मणीपुर । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किएको छ । गत वर्ष मैतेई र कुकी समुदायबीचको झडप भएको थियो । १ वर्ष वित्न नपाउँदै पुन झडप भएको हो ।
मणीपुरको जिरिबाम जिल्लामा आज छ जनाको हत्या भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार संदिग्ध कुकी विद्रोही समूहले आक्रमण गर्दा प्रदेश राजधानी इम्फालबाट २ सय २९ किलोमिटर टाढा ररहेको जिल्लाको नुङ्छप्पी गाउँमा आक्रमण भएको थियो ।
प्रहरीका अनुसार मणिपुरको मोइराङ सहरमा कुकी विद्रोहीहरूले गरेको रकेट बम आक्रमण गर्दा प्रार्थना गरिरहेका मैतेई समुदायका अगुवा व्यक्तिको हत्या भएको एकदिनपछि यो आक्रमण भएको हो ।
घटनापछि जिरिबामका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी टोली त्यस क्षेत्रमा पुगेका थिए,तर उनीहरूमाथि गोली प्रहार भएको समाचारमा जनाइएको छ ।
इम्फालमा, प्रहरी महानिरीक्षक कबिबले पत्रकारहरूसँग भने ‘हिजो विष्णुपुर र चुराचन्दपुर सीमा लगायतका केही छिमेकी क्षेत्रमा केही कुकी आतङ्ककारीहरूले आक्रमण र गोलीबारी गरेका थिए । त्यसको जवाफमा सुरक्षा बलको संयुक्त टोलीले उनीहरुले पहिले विद्रोहीले कब्जामा लिएका दुईवटा बङ्कर ध्वस्त पारेका छन्, त्यसपछि मोइराङमा कुकी विद्रोहीले लामो दूरीको रकेट प्रहार गरेका छन् ।’
गतवर्ष बहुसङ्ख्यक मैतेई समुदायलाई पनि अनुसूचित जातिमा सूचीकृत गर्नेबारे विचार गर्न न्यायालयले सरकारलाई भनेपछि त्यसको विरोधमा जनजाति समुदायहरू विरोधमा ओर्लिएपश्चात् हिंसा शुरू भएको थियो । करिब ५० प्रतिशत जनसङ्ख्या रहेको मैतेई समुदायले अनुसूचित जातिमा सूचीकृत गर्नुपर्ने माग वर्षौँदेखि गर्दै आएको थियाे ।
Discussion about this post