धरान । प्रदेशको ‘कोशी’ नामकरण गरिएपछि असन्तुष्ट बनेको जनता समाजवादी पार्टी आन्दोलित भएको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै जसपाले ‘कोसी प्रदेशको नामकरणसँगै यस भुमिमा विद्रोहको विजारोपण भएको’ बताएको छ । जसपाका किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राईले पहिचानकालागी भएका अग्रगामी आन्दोलनलाई अवमुल्यन गरिएको बताए ।
राईले लिम्बूवान, किरात, शेर्पालुङ लयात १० प्लस १ प्रदेश सुनिश्चित नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन् । जसपाका केन्द्रीय सदस्य भीम राईले आन्दोलनको स्वरुपबारे बताउदै शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिए ।
राज्यले गर्ने व्यवहारलाई हेरेर आन्दोलनको रुपरेखा परवर्तन हुने र आन्दोलनलाई दबाउन खोजिए आन्दोलनले उग्र रुप लिने चेतावनी उनले दिए ।
कांग्रेस, एमालेलाई परम्परावादीको आरोप लगाउदै माओवादीले समेत पहिचानको मुद्दा छाडेर जनतामा भ्रम छरेको आरोप जसपाले लगाएको छ । पत्रकार सम्मेलनमा जसपा नेपालका सांसदाई मत दिन बञ्चित गरिएको भन्दै सत्यतथ्य छानविनकालागी माग समेत गरिएको थियो ।
कोसी नामले आम जनसमुदायको माग, भावना र जनदेशलाई सम्बोधन नगर्ने भन्दै ‘कोसीनाम राखेर इतिहासदेखि यो भूमिमा भएका लिम्बूवान, किरत, शेर्पालुङ, मधेश, शिल्पी, दलित, महिला लगायतबाट परिवर्तनका लागि भएका अग्रगामी आन्दोलनलाई अवमुल्यन गरिएको’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । नामकरणपछि राजनीतिक कोर्स परिवर्तन भएको भन्दै सम्बन्धित सबैलाई एकताबद्ध भइ संघर्ष गर्न आह्वान समेत गरिएको छ ।
यसअघि जसपा नेपाल सहित, लिम्बूवान, नेकपा एस लगायतले कोसी प्रदेश नामकरणको विरोधमा भानुचोकमा संयुक्त रुपमा विरोध सभा गरेका थिए ।
Discussion about this post