इटहरी । सुनसरीको इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेसहितको टोलीले आज बिहीबार मेयर पौडेलको ध्यानाकर्षण गराएको हो ।
जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू खासगरी पहाडी क्षेत्रबाट आएका र कोठा भाडामा लिएर बस्दै आएका कारण पनि स्वास्थ्य समस्या पर्दा आर्थिक रूपमा समस्या हुने भएकाले अस्पतालमा पूर्ण छुटको माग राखिएको काफ्लेले बताए ।
‘विभिन्न ठाउँबाट जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीलाई इटहरी उपमहानगरको मातहतमा रहेको इटहरी अस्पतालमा विद्यार्थीहरूलाई उपचारका लागि पूर्ण छुटको व्यवस्था मिलाइदिन अनुरोध गरेका हौँ,’ काफ्लेले भने, ‘यस विषयमा मेयर सकारात्मक हुनुहुन्छ ।’
ध्यानाकर्षण पत्र बुझ्दै मेयर पौडेलले आफू पनि विद्यार्थी राजनीतिबाटै आएकाले विद्यार्थीको समस्या बुझ्ने बताए ।
‘विद्यार्थीको पीडा र समस्याबारे म जानकार छु,’ उनले भने, ‘स्थानीय सरकारबाट हुनसक्ने सबै सुविधा प्रदान गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो ।’
नेविसंघले यो किसिमको मुद्दा उठाउनु सकारात्मक रहेको बताउँदै उनले यस विषयमा अस्पताल प्रशासनसँग बैठक बसेर विद्यार्थीको उपचारमा छुट गर्नका लागि काम गर्ने बताए ।
‘राज्यले विद्यार्थीलाई सहुलियत दिनुपर्छ, इटहरी अस्पतालमा कसरी प्रभावकारी ढंगबाट काम गर्न सकिन्छ भन्ने विषयमा अस्पताल प्रशासनसँग बसेर काम गरिन्छ,’ मेयर पौडेलले भने, ‘समग्रमा यो कुरा पूरा गर्न सकिन्छ, नेविसंघलाई धेरै धन्यवाद दिन चाहन्छु ।’
Discussion about this post