रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनले अघि सारेको शान्ति योजना युक्रेन युद्धको अन्त्यका लागि आधारका रुपमा प्रयोग गर्न सकिने तर त्यसका लागि पश्चिमा देश र किभ तयार हुनु पर्नेमा जोड दिएका छन् ।
रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको औपचारिक भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले यस्तो जनाएका हुन् ।
सोही पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सीले आफ्नो देश शान्ति र वार्ताको पक्षमा रहेको तथा इतिहासको सही दिशामा उभिएको बताएका थिए ।
सीले युक्रेन द्वन्द्वमा चीन निष्पक्ष भूमिकामा रहेको भन्दै बेइजिङलाई शान्तिकर्ताको रुपमा प्रस्तुत गरेका थिए । दुवै नेताद्वारा हस्ताक्षरित् संयुक्त विज्ञप्तिमासमेत युक्रेन संकटको समाधान संवाद र शान्ति वार्ताका माध्यमबाट गरिनु पर्नेमा जोड दिइएको छ ।
चीनले गत महिना जारी गरेको १२ बुँदे योजनामा युद्ध बिराम गरी र शान्ति वार्ताका माध्यमबाट युक्रेन युद्धको राजनीतिक समाधान खोजिनु पर्ने उल्लेख गरेको छ ।
तर चिनियाँ योजनामा रुसलाई युक्रेनबाट सेना फिर्ता लैजान नभनिएको भन्दै पश्चिमा देशले त्यसप्रति आशंका जनाउँदै आएका छन् । युक्रेनले पनि कुनै पनि वार्ताका लागि पहिले रुसले आफ्नो भूभागबाट सेना फिर्ता लैजानु पर्ने सर्त राख्दै आएको छ ।
Discussion about this post