इलाम । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले इलामको सूर्योदय नगरपालिकामा सञ्चालित परियोजनाहरुको अनुगमन गरेका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत् कार्यान्वयन भइरहेको परियोजनाको उनले अनुगमन गरेका हुन् ।
मन्त्री मोदीले निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाकअन्तर्गत् वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भञ्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ०८ स्थित मानेडाँडामा निर्माणधीन सिसाको पुलको अनुगमन गरेका हुन् ।
वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीय बासिन्दासँग उनले छलफल पनि गरेका थिए ।
१० करोड ८१ लाखको कुल लागत साझेदारीमा निर्माणधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ्ग ट्रयाक निर्माणसँगै स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र साँस्कृतिक पक्षहरुको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ ।
नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यो परियोजना अन्तर्गत काम भइरहेको छ ।
मन्त्री मोदीले निर्माणधीन परियोजनाका कामहरु समयमै सम्पन्न गर्न निर्देशन दिए ।
कामको गुणस्तरीयताको नियमित रुपमा रुपमा अनुगमन गर्न पनि मातहतका कार्यालय प्रमुखलाई मन्त्री मोदीले निर्देशन दिए ।
यस परियोजनाअन्तर्गत कोशी प्रदेशमा १० वटा परियोजना सञ्चालन भइरहेको छ ।
परियोजना अन्तर्गत् देशभर ५७ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटाले जानकारी गराए ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा, प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, मुख्यमन्त्री कार्यालय, कोशी प्रदेशका टोली प्रमुख प्रणय शर्मा, प्रदेश सुशासन केन्द्र, झापाका टोली प्रमुख अनिता गुराँगाई, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, १० नम्बर वडाका वडाध्यक्ष पेमा उगेन लामा, आइपिएफ फोकल पर्सन सिर्जन गदाल लगायत उपस्थित थिए ।
Discussion about this post