बागलुङ - एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाडमा अहिले गोठाला जान छोडे तर आन्तरिक पर्यटक पुग्न थालेका छन् । हाँडिकोट पुग्नका लागि डाँडाखानी र ब्याडथलाबाट दुवैतर्फबाट पदमार्ग निर्माण भएपछि पदयात्रामार्फत त्यहाँ पुग्ने पर्यटकहरू आकर्षति भएका हुन् ।
डाँडाखानीबाट झण्डै चार किमी पदमार्ग र ब्याडथलाबाट तीन किलोमिटर परम्परागत पदमार्ग निर्माणपछि त्यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ । पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरनस्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरू बढिरहेका छन् ।
बागलुङको गलकोट दुदिलाभाटीबाट तस्बिर कैद गर्नका लागि हाँडिकोट पुग्नुभएको राम खत्रीले यहाँबाट देखिने मनोरम दृश्यले लोभाएको बताए। डाँडाखानीबाट एक घण्टको पैदलयात्रामा हाँडिकोट पुगेका खत्री फर्कंदा ब्याडथलाको पदमार्ग प्रयोग गरेको बताउँछन् ।
उनले सूर्योदय हेर्न, गुराँसको वन हेर्न र दर्जनौं हिमाल हेर्नका लागि हाँडिकोट उपयुक्त गन्तव्य रहेको बताए। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसँगै दर्जर्नौ हिमऋङ्खला देख्न सकिन्छ ।
“फोटो भिडियो खिच्न रूची राखेर पैदलयात्रामार्फत पर्यटकीय स्थाल पुग्ने गरेको छु, हाँडिकोड पछिल्लो समय चर्चामा आएको गन्तव्य रहेछ, पदयात्रामा रूची राख्ने र प्रकृतिसँग रमाउनेका लागि हाँडिकोट उपयुक्त गन्तव्य लाग्यो, बिहानै आउने पर्यटकका लागि सूर्योदयले मनै लोभ्याउनछ, कोलाहलपूर्ण वातावरणबाट अलग्गै बस्नका लागि हाँडिकोट पृथक गन्तव्य रहेछ”, खत्रीले भने, “यहाँबाट देखिने जैमिनीका अधिकांश गाउँ, हिमालहरूले मनै लोभ्यायो, पहिलाको पशु चरिचरन अहिले पर्यटकीयस्थल भएछ ।”
हाँडिकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग पुर्याइएको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धामपछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तीव्रता दिएको जनाएको छ ।
प्रतिक्रिया