‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

सोमबार, ०४ चैत्र २०८१
धनकुटा : गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मुख रहेको व्यवसायीहरूको भनाइ छ । “कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकलामा भन्दा राम्रो भइरहेको छ”, होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भन्नुभयो । विगत १८ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता बिस्तारै हटेर जाने विश्वास व्यक्त गर्नुभयो । त्यसै गरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरुको व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मुख रहेको बताउनुभयो । यस क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उहाँ बताउनुहुन्छ । होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भए पनि टावरको प्रवेश शुल्क केही महँगो भएकाले सोचे जस्तो पर्यटकहरू आकर्षित नभएको गुनासो गर्नुभयो । हाल भेडेटारमा पर्यटकलक्षित एक सय भन्दा बढी सुविधा सम्पन्न र करिब दुई सय बढी साना होटलहरु सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रूपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा एक लाख ५० हजार बढी पर्यटकहरूले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव रोकायाले जानकारी दिनुभयो । उक्त अवधिमा स्काई वाक टावरबाट रु पाँच करोड बढी कारोबार भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार