कोशीका मन्त्री हाङगामको दादागिरी : सचिवको गाडीको चाबी खोसेर फेरि विवादमा

हाङगाममाथि यसअघि पनि विभिन्न विवाद उठ्दै आएका छन्।

सोमबार, १६ भदौ २०८२

विराटनगर : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगाम पुनः विवादमा तानिएका छन्। लामो समयदेखि विवादास्पद हर्कतका कारण आलोचना खेपिरहेका हाङगामले सोमबार मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी नै खोसेका छन्।

सचिव मोटरसाइकलमा फर्किन बाध्य

मन्त्रालय स्रोतका अनुसार मन्त्री र सचिवबीच लामो समयदेखि असमझदारी र तनाव थियो। मन्त्रीले आफ्नो दबाबमा करिब १० जना कार्यालय सहयोगी र चालक हटाएर आफ्ना मान्छे नियुक्त गर्न दबाब दिँदै आएका थिए। तर, सचिव पाण्डेले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो।

त्यस्तै, मन्त्रीको सचिवालयका कर्मचारीको असार महिनाको भ्रमण भत्ता तत्काल भुक्तानी गर्नुपर्ने मागलाई पनि सचिवले अस्वीकार गरेका थिए। यसैको प्रतिफलस्वरूप सोमबार सचिव पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलमा गएका बेला उनी चढेर गएको को १ झ ६७९ नम्बरको गाडी फर्कँदा त्यहाँ थिएन। चालकको फोन ‘स्विच अफ’ थियो। पछि बुझ्दा मन्त्रीकै निर्देशनमा गाडीको चाबी खोसिएको पुष्टि भएपछि सचिव अन्ततः मोटरसाइकलमा फर्कन बाध्य भएका थिए।

सचिव पाण्डेले घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराइसकेका छन्। मन्त्रालयका कर्मचारीहरूका अनुसार, “मन्त्री हाङगामले लामो समयदेखि अनावश्यक दबाब दिइरहेका छन्। सचिवले अस्वीकार गरेपछि उनले गाडी नै खोसेर आफ्नो दादागिरी देखाए।”

विवादको श्रृङ्खला

मन्त्री हाङगाममाथि यसअघि पनि विभिन्न विवाद उठ्दै आएका छन्। गत जेठमा बजेट निर्माणमा आफूलाई ‘बाईपास’ गरिएको भन्दै उनले सचिव र महाशाखा प्रमुखलाई शारीरिक कारबाही गर्ने धम्की दिएका थिए। गृहजिल्ला ताप्लेजुङमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई कुटपिट गरेको घटना अझै ताजा छ।

यस्तै, हालै उनका समर्थकले ताप्लेजुङकै वडाध्यक्षलाई कुटपिट गरी घाइते बनाएको घटनाले पनि उनको आलोचना चुलिएको छ। मन्त्री बन्नुअघि समेत उनले सार्वजनिक मञ्चबाट तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए।

नैतिकताको प्रश्न

बारम्बार धम्की, दादागिरी र गैरजिम्मेवार हर्कतले मन्त्री पदको नैतिकता नै कमजोर बनाएको सरोकारवालाको भनाइ छ। मन्त्रालयका कर्मचारीहरू भन्छन्, “मन्त्रीले बारम्बार ‘यो मेरो राज्य हो’ भन्दै दादागिरी देखाउँछन्। सचिवको गाडी खोस्नु भनेको अनुशासनहीनताको चरम उदाहरण हो।”

सचिव पाण्डेले पनि आफूले चढेको गाडीको चाबी मन्त्रीकै निर्देशनमा खोसिएको पुष्टि गरेका छन्। तर उनले भने, “उहाँ (मन्त्री) र मबीच व्यक्तिगत विवाद छैन। तर, किन चाबी खोस्नुभयो भन्ने बुझ्न सकिन।”

यस विषयमा मन्त्री हाङगामसँग बुझ्न खोज्दा उनले सम्पर्क गर्न चाहेनन्। बारम्बार गरिएको फोनसमेत उठाएनन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार