दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्।
होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार अटोरिक्सामा पाँचजना सवार थिए। दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका छन् भने चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चालकका १७ वर्षीय छोरा आयुस भुल घाइते भएका छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिहरुको पहिचान अझै खुल्न नसकेको र उनीहरूको खोजीका लागि धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रावतले बताए।
प्रतिक्रिया