सुनसरीका पत्रकारलाई आचारसंहिता र साईबर कानुनसम्बन्धी प्रशिक्षण

मंगलबार, १७ असार २०८२

इटहरी : सुनसरी जिल्लामा क्रियाशील रहेका पत्रकारहरुलाई पत्रकार आचारसंहिता र साईबर कानुनका विषयमा मंगलबार एक दिने प्रशिक्षण प्रदान गरिएको छ । सम्पादक प्रकाशकसँग अन्तरक्रिया तथा आचारसंहिता संवाद नाम दिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य पत्रकारितामा कानुनी चेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार तथा तथ्यमा आधारित पत्रकारिताको अभ्यासलाई सुदृढ गर्नु रहेको थियो । प्रकाशक तथा सम्पादकसँगको अन्तरक्रियामा प्रकाशक सम्पादकहरुले चुनौतीका साथ काम गरिरहेको उल्लेख गर्दै चुनौतीहरूलाई समाधान गर्न महासंघ लागि पर्नुपर्ने बताएका छन् । उनीहरूले आफ्नो समाचार संस्थाको विश्वासनियताप्रति समेत कटिबद्ध रहनुपनेमा जोड समेत दिएका छन् । 

कार्यशालामा कार्यक्रममा प्रशिक्षकका रूपमा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताका विविध पक्षहरूमा प्रकाश पारे । उनले पत्रकारिताको मर्यादा कायम राख्न र सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिएका छन् । पत्रकारहरूले पेसागत उत्तरदायित्व र निष्पक्षताको मर्मलाई आत्मसात् गर्नुपर्ने भुसालको भनाइ छ ।

प्रशिक्षणका क्रममा वरिष्ठ पत्रकार भोजराज श्रेष्ठले साईबर अपराध, डिजिटल सुरक्षाका प्रावधान र पत्रकारितामा लागू हुने सूचना प्रविधिसम्बन्धी कानुनी पाटाहरुबारे जानकारी गराए । उनले भने, “कानुनको अज्ञानता क्षम्य हुँदैन । पत्रकारितामा सत्य र तथ्यको कडाइका साथ पालना अनिवार्य छ ।”

513488992_1058145073085878_2161969177098470670_n

श्रेष्ठले भ्रामक, आधारहीन र अपुष्ट सामग्रीले केवल व्यक्ति होइन, समाजमा गम्भीर तरङ्ग पैदा गर्न सक्ने खतरा रहेको उल्लेख समेत गरेका छन् । 

यसैगरी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काले पत्रकारिताको मूल आधार सत्य, तथ्य र निष्पक्षता भएको बताउँदै अनावश्यक र अतिरञ्जित समाचारहरूले समाजमा भ्रमको स्थिति सिर्जना गर्ने बताए । “हामीले पत्रकारितामा संयम र जिम्मेवारी देखाउन जरुरी छ,” खड्काले भने । खड्काले हुँदै नभएका समाचारले समाजलाई नै भ्रमित बनाएको भन्दै उदाहरण समेत प्रस्तुत गरेका हुन् ।

प्रेस काउन्सिल नेपालका सदस्य विजय राज अधिकारीले पनि पत्रकार आचारसंहिता तथा हालको सञ्चार परिवेशमा प्रेस स्वतन्त्रताको सवालमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गरे । नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाराकोटीले अहिलेको परिप्रेक्ष्यमा प्रेस स्वतन्त्रता दबाबमा परेको टिप्पणी गर्दै सञ्चार संस्थाहरू राजनीतिक र व्यावसायिक दबाबको परिधिमा रहेको बताएका छन् ।

प्रदेशखबरसँगको कुराकानीमा उनले भने, “हामीले प्रकाशक र सम्पादकसँग आलोचनात्मक चेत जीवित राख्नका लागि रणनीतिक योजना बनाएका छौँ ।" पत्रकारिता क्षेत्रका संस्थाहरू पनि परिधिभित्र नरहेको अवस्थामा प्रेस स्वतन्त्रताका सवालमा कसरी अगाडि बढ्ने भन्ने कुरालाई कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बाराकोटीको दाबी छ । 

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकारहरूले युवा पत्रकारहरूलाई आफ्ना अनुभव सुनाउँदै पत्रकारिता पेसाको चुनौती, अवसर र उत्तरदायित्वबारे मार्गदर्शन गरे । उनीहरूले पत्रकारिताको नयाँ पुस्ताले डिजिटल प्रविधिको सदुपयोग गर्दै सत्य तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

WhatsApp Image 2025-07-01 at 8.11.37 PM

514514929_633012355773420_3538034630549420081_n
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार