झापा : उपभोक्ता जागरण अभियान नेपालले झापामा बजार अनुगमन प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकायसंग भेटघाट तथा छलफल गरेको छ ।
टोलीले जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलासँग भेट गरी बजार अनुगमन प्रक्रिया, उपभोक्ता अधिकार संरक्षण तथा हालका बजार चुनौति सम्बन्धी विषयमा छलफल गर्दै बजार अनुगमन प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको छ ।
बजार अनुगमनको जिम्मेवारी पाएका सहायक प्रजिअ निरौलासँग वस्तु तथा सेवा बजारको वर्तमान अवस्था, मूल्य स्थिरता, अनुगमनको आवधिकता र सुधारका उपायबारे छलफल समेत गरेको छ ।
छलफलमा ‘जेन–जी आन्दोलन’ पछिको परिस्थितिले बजार सुशासनमा प्रभाव परिरहेको र स्थानीय तहका बजार अनुगमन समितिहरू पर्याप्त सक्रिय हुन नसक्दा उपभोक्तामैत्री वातावरण बन्न कठिनाइ परेको निष्कर्ष साझा रूपमा निकालिएको थियो। स्थानीय सरकारहरू उपभोक्ताको हितमा केन्द्रित भई नियमित तथा प्रभावकारी अनुगमनमा जुट्नुपर्ने आवश्यकता औँल्याइएको छ।
कार्यक्रममा उपभोक्ता जागरण अभियान–नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद भण्डारी (मार्सेली), केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, झापा जिल्ला अध्यक्ष शालिकराम भट्टराई तथा जेरियाटिक सोसाइटीका केन्द्रीय अध्यक्ष एवं पूर्व जनप्रतिनिधि कमल प्रसाद राजवंशीको उपस्थित थियो।
अभियानको तर्फबाट सहायक प्रजिअलाई झापा जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी बजार अनुगमनलाई थप सुदृढ बनाउन सहयोग गरिदिन अनुरोध गरिएको उपभोक्ता जागरण अभियान–नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद भण्डारी (मार्सेली)ले जानकारी दिए ।
प्रतिक्रिया