झापा : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जेनजी आन्दोलनको उग्रताका बिच लामो समय सम्पर्कविहीन बनेका थिए।
भदौ २४ गते दिउँसो १२ बजेसम्म सम्पर्कमा रहेका उनी त्यसपछि हराएझैँ भए। सोही दिन आन्दोलनकारीहरूले झापा गौरादह–३ डिपु चौकस्थित उनको निजी निवासमा आगजनी गरे।
घरमा आगो लगाउँदा उनकी ९१ वर्षीया आमा जानुकादेवी कार्की भित्रै थिइन्। आमालाई उद्धार गर्न उनका भतिज मनोज, छोरी तारा, आफन्त र छिमेकीले ठूलो साहस देखाए। मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत आमाको सुरक्षित उद्धारलाई आफ्नो परिवारका लागि “सबैभन्दा ठूलो राहत” भएको बताएका छन्।
कार्कीले लेखेका छन्, “घर गुमायौँ, तर आमा सुरक्षित हुनुहुन्छ। आमाको माया, ममता र आशीर्वाद पाइरहने छौँ।” उनले घटनालाई हृदयविदारक भने पनि यसले भ्रष्टाचारमुक्त सुशासन, देशभक्ति र जनपक्षधरताको आफ्ना सङ्कल्पमा कुनै असर नपर्ने स्पष्ट पारे।
आगजनीमा घरसँगै उनका निजी सम्पत्ति समेत जलेर खरानी भएको छ। उनले यसलाई व्यक्तिगत क्षतिभन्दा बढी राष्ट्रको सम्पत्ति, राष्ट्रिय गरिमा र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमणको प्रयासका रूपमा लिएको बताए।
“देशलाई दशकौँ पछाडि धकेल्ने दुष्प्रयास गरिएको छ, तर हामी निराश छैनौँ। पुनर्निर्माणका लागि नेकपा (एमाले) र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिसँग हातेमालो गर्दै अघि बढ्छौँ,” कार्कीले भने।
मङ्गलवार उनले कोसी प्रदेशका सचिवहरूसँग जलेका संरचनाको अनुगमन गरी सफाइ तथा पुनर्निर्माणबारे छलफल गरेका थिए।
बुधबार सार्वजनिक स्ट्याटसमार्फत उनले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याइने विश्वास दिलाउँदै शान्तिपूर्ण राजनीति र जनसेवामा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिक्रिया