सुनसरीमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु

बुधबार, १८ असार २०८२

इटहरी । सुनसरीमा स्कुल बसले किचेर मंगलबार नाबालकको मृत्यु भएको छ । नाबालक सोही बसमा सवार थिए । 


प्रहरीका अनुसार गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह ४ः२० बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी–३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको जानकारी सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले दिए । 


उनका अनुसार बसले किचेर गढी–६ का श्रवण उराउको छोरा ३ वर्षीय आयुष उराउको मृत्यु भएको छ । स्कुल छुट्टी भएपछि नाबालक त्यही बसेमा चढेर घरतर्फ जाँदै गर्दा घटना भएको प्रहरीको भनाइ छ । 


घर छेउमा पुगेपछि ओर्लिने क्रममा अचानक लडेका उनी बसको चक्कामुनि पुगेका थिए । चक्काले टाउकोमा किच्दा नाबालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा छ । फरार रहेका बस चालक गढी–३ का अन्दाजी ३१ वर्षीय विनोदकुमार मेहताको प्रहरीले खोजी गरिरहेको छ । 


चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमल्सिना नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार