लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरू अमेरिकामा

विहीबार, ०७ चैत्र २०८१
टेक्सस : लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरू अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न गैर आवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरूको टोली अमेरिका आएको हो । भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्यान्ड र वासिङ्टन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ । टेक्सस भ्रमणमा रहेको लुम्बिनी परिपथका नगरप्रमुखहरूको टोलीले टेक्ससका राज्यसभाका सांसदहरू, स्थानीय युलेश सिटीका नगरप्रमुख तथा पदाधिकारी, नेपाली समुदायका अगुवासँग छुट्टाछुट्टै अन्तरक्रिया गरेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जानकारी दिएका छन् । टेक्ससस्थित अमेरिकी तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन, नेपाली धर्म–संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । यसै सन्दर्भमा टेक्सस राज्यसभाको बैठकले नगरप्रमुखहरूको उपस्थितिमा सङ्कल्प प्रस्ताव पारित गर्दै ‘लुम्बिनी एड्भोकेसी डे’ समेत घोषणा गरेको छ । “हाम्रो भ्रमणको उद्देश्य भगवान गौतमबद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा चिनाउनु नै हो । भ्रमणका क्रममा हामीले अमेरिकाका स्थानीय नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने, लुम्बिनी क्षेत्रको बारेमा तयार पारिएको जानकारीमूलक सामग्री वितरण गरी अमेरिकी तथा नेपाली नागरिकलाई नेपालको बुद्ध भूमि र बुद्ध परिपथका नगरपालिकाको भ्रमणका लागि निमन्त्रणा दिने हो”, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले भने । नेपाली समाज टेक्सस, ग्रेटर अष्ट्रिन नेपाली समाज, लुम्बिनी सेवा समाजलगायतका संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी परिपथका प्रमुखहरूले अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई लुम्बिनी भ्रमण गराउन आग्रह गरेका थिए । “अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपालको बारेमा जानकारी छैन । बिदा मनाउन अस्ट्रेलिया, स्वीजरल्याण्ड होइन, नेपालको लुम्बिनी घुम्ने योजना बनाइदिनुस् । यसले दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्छ । उनीहरूमार्फत अमेरिकी समुदायमा लुम्बिनीको प्रचारप्रसार गर्न सहयोग पुग्छ”, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल भन्छन् । रामनगर नगरपालिका नवलपरासीका प्रमुख धनपत यादवले अमेरिका भ्रमणबाट आफूहरू उत्साहित भएको बताए । यसबाट गौतमबद्धको जन्मस्थल लुम्बिनीको थप प्रचारप्रसार गर्न सहयोग मिल्ने उनको भनाइ थियो । लुम्बिनी परिपथका प्रमुखको टोलीले न्यूयोर्कमा प्रमुखसँग भेटघाट, भर्जिनियामा गैर आवासीय नेपाली सङ्घ अमेरिका र मेरिल्यान्डको बाल्टिमोरमा बाना संस्थासँग पर्यटन विकाससम्बन्धी समझदारी गर्ने र वासिङ्टन डिसीमा नेपाली दूतावाससँग छलफल गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार