कोशीको पर्यटनमा नवीनता जोड्ने उद्देश्यका साथ 'टुरिजम प्रोजेक्ट सोकेस' हुँदै

शनिबार, ०२ चैत्र २०८१
काठमाडौँ : नेपालमा पर्यटन प्रवद्र्धन र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टुरिजम प्रोजेक्ट सोकेस २०२५ को आयोजना हुने भएको छ । एलिसन हस्पिटालिटीको आयोजनामा र काफल्सको व्यवस्थापनमा सोकेशको आयोजना हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी वैशाख १५, १६ र १७ गते काठमाडौँमा हुने कार्यक्रममा कोशी प्रदेशको पर्यटन क्षेत्रका नवीन परियोजनाहरू प्रतियोगितात्मक ढङ्गले प्रस्तुत हुने एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले जानकारी दिइन् । ‘कार्यक्रम मा ५ जना विद्यार्थीको समूहमा जम्मा १० समूहले प्रतिस्पर्धा गर्दै पर्यटन क्षेत्रका नवीन परियोजनाहरू प्रस्तुत गर्नेछन् । सहभागी टोलीलाई उद्योग विशेषज्ञ तथा मार्गदर्शकहरू द्वारा प्रशिक्षित गरिनेछ, जसले उनीहरूलाई पर्यटनको दिगोपन, नवप्रवर्तन र आर्थिक सम्भाव्यता जस्ता पक्षहरूमा केन्द्रित गराउन मद्दत गर्नेछ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ । यस प्रतियोगितामा कुनै पनि विश्वविद्यालयबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले सहभागिता जनाउन सक्ने अध्यक्ष मगरले जानकारी दिइन् । ‘प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीहरूले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराइनेछ ।’ उनले उल्लेख गरेकी छिन् । निःशुल्क प्रवेश गरी प्रतियोगितामा सामेल हुन पाउने छन् । उनका अनुसार प्रोजेक्ट सोकेसको मञ्चमा विद्यार्थी, प्रोफेसनल्स, नीति निर्माता, र लगानीकर्ताहरू सँगै आएर पर्यटन क्षेत्रमा नवीनतालाई अगाडि बढाउन सहयोग हुने छ । सोकेसले पुर्याउने योगदान
  • पर्यावरणीय पर्यटन – हरित र दिगो यात्रा अवधारणाको प्रवद्र्धन ।
  • साहसिक र खेलकुद पर्यटन – नेपाललाई रोमाञ्चक साहसिक गन्तव्यको रूपमा विकास गर्ने ।
  • सांस्कृतिक तथा सम्पदा पर्यटन – परम्परागत सम्पदाको संरक्षण र प्रवद्र्धन ।
  • स्मार्ट सिटी तथा ग्रामीण पर्यटन – प्रविधि र पर्यटनको सहकार्यलाई प्रवद्र्धन गर्ने ।
  • ग्यास्ट्रोनोमी तथा पाककला पर्यटन – नेपालका स्थानीय परिकारहरूलाई पर्यटन उद्योगमा स्थापित गर्ने ।
  • स्वास्थ्य तथा ध्यान पर्यटन – नेपालको आध्यात्मिक परम्परालाई पर्यटनसँग जोड्ने ।
सहभागी विद्यार्थीहरूले स्थलगत अनुसन्धान गरेर पर्यटन केन्द्रित संरचना र मोडल निर्माण गर्नेका साथै परियोजनाको थ्री–डी मोडल, ड्रइङ, र डिजिटल प्रेजेन्टेसन तयार पारेर निर्णायकहरू समक्ष परियोजनाको प्रस्तुतीकरण दिनुपर्ने आयोजकले जनाएको छ । जसमा विजेता टिमलाई क्रमशः एक लाख, पचास हजार, पच्चिस हजार र सहभागी टिमलाई दश हजारका दरले नगद पुरस्कार, प्रमाणपत्र, तथा आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार