विराटनगर : विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदाम घर नेपाल सरकारले कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
गृहमन्त्री रमेश लेखकले सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी हस्तान्तरण गरी गोदाम घर प्रदेश सरकारको जिम्मा लगाएका हुन ।
यस अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघीयताको प्रभावकारी कार्यान्वयन र विपद् व्यवस्थापन सुदृढ बनाउन यो हस्तान्तरण महत्वपूर्ण रहेको बताए।
गृहमन्त्री लेखकले संघीयता कार्यान्वयनलाई प्राथमिकता दिँदै छिट्टै शिक्षा विधेयक, निजामती सेवा विधेयक र नेपाल प्रहरीसम्बन्धी विधेयक पारित गर्ने योजना रहेको बताए।
लेखकले हालको सरकारको आर्थिक सुधारका प्रयासहरूको प्रशंसा गर्दै गठबन्धनले स्थायित्व र आर्थिक सुधारको आधारशिला राखेको दाबी गरे ।
'सरकारले १० महिनाको छोटो अवधिमा निराशालाई आशामा बदल्न महत्त्वपूर्ण भूमिका खेलेको छ', गृहमन्त्री लेखकले भने ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय सरकारबाट अधिकार हस्तान्तरणको प्रक्रिया सुरु हुनु अहिलेको सरकारको उपलब्धि भएको बताए।
कार्कीले अधिकार हस्तान्तरणमा देखिएका चुनौतीहरूप्रति संकेत गर्दै एकैचोटि सबै अधिकार हस्तान्तरण गर्न कठिनाइ हुने स्पष्ट पारे। 'कतिपय कर्मचारीको साँघुरो सोच र ज्ञानको अभावले प्रदेश सरकारको कार्यान्वयन प्रक्रियामा जटिलता थपिएको छ', मुख्यमन्त्री कार्कीले भने ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले संघीय सरकारलाई आवश्यक अधिकारहरू तत्काल प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै विपद् व्यवस्थापनमा प्रदेशको सक्रियताको चर्चा गरे ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टको अध्यक्षता रहेको थियो।
विराटनगर भन्सार क्षेत्रमा हस्तान्तरण गरिएको गोदाम घरमा टेन्ट, त्रिपाल, शेल्टर किट, स्लीपिङ ब्याग, ब्लाङ्केट लगायत ११ प्रकारका सामग्रीहरू भण्डारण गरिएको छ।
दातृ निकायहरूले उपलब्ध गराएका यी सामग्रीहरू विपद् व्यवस्थापनका लागि अत्यावश्यक मानिन्छन्। अबदेखि यो गोदाम घर र त्यसको क्षेत्र कोशी प्रदेश सरकारको मातहत रहने जानकारी प्रमुख कार्यकारी अधिकृत भट्टले दिए ।
प्रतिक्रिया