दमकमा टिपरले ठक्कर दिँदा जेठानीको मृत्यु, देउरानी घाइते

आइतबार, २९ असार २०८२

दमक : झापाको दमकमा आइतबार दिउँसो एक दुखद सवारी दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्। दमक नगरपालिका–३ स्थित संगम चोकमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई महिला जेठानी–देउरानीमध्ये ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो।

प्रहरीका अनुसार, डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको ‘मे १ ख २८८४’ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको ‘मे ११ प ५४४३’ नम्बरको स्कुटरलाई अपरान्ह १२ बजेतिर ठक्कर दिएको थियो।

स्कुटरको पछाडिपट्टि बसेकी लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ।

घटनामा स्कुटर चलाइरहेकी ४४ वर्षीया टीका गौतम घाइते भएकी छन्। टीकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेकी लक्ष्मी र टीका जेठानी–देउरानी रहेको खुलेको छ।

दुर्घटनापछि टिपर चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार