कोशी मुख्यमन्त्री कार्कीले भने, 'संविधानमाथि कुठाराधात भयो'

शुक्रबार, २७ भदौ २०८२

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालको संविधान र जनप्रतिनिधिमूलक व्यवस्थामाथि खेलवाड हुने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट गरेका छन्।

सामाजिक सञ्जाललमा उनले भनेका छन्,“नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानको आधार नेपाली जनताको सात दशक लामो संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको दस्तावेज अर्थात नेपालको संविधान २०७२ ले गैर सांसद व्यक्ति प्रधानमन्त्री बन्ने व्यवस्था परिकल्पना गरेको छैन।”

कार्कीले जनतामा निहित सार्वभौमसत्ता माथि कुनै पनि किसिमको खेलवाड दुःखद हुने भन्दै जनप्रतिनिधिमूलक संस्था अनाहक विघटन गरी गैर–सांसद व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु संविधानप्रतिको विश्वासमाथि कुठाराघात भएको बताए।

उनले भने, “नेपाली जनताको बलिदानीपूर्ण संघर्षका उपलब्धिहरुलाई गुम्न नदिन र निरङ्कुशताको दिशामा हुने कुनै पनि पश्चगामी कदम नेपाली जनताले स्वीकार गर्ने छैनन्।”

मुख्यमन्त्री कार्कीले इतिहासलाई स्मरण गर्दै हिजो पनि जनताले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, संविधानवाद र जनहितका लागि संघर्ष गरेको र आज पनि त्यसकै संरक्षणका लागि तयार हुनुपर्ने अवस्था आएको बताए।

संकट र आन्दोलनको निकासका नाममा भएको असंवैधानिक कदम स्वीकार्य नहुने स्पष्ट पार्दै उनले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबै जिम्मेवार शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार