काठमाडौँ : देशको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । लामो रस्साकस्सीपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ ।
शुक्रवार दिनभर चलेको राजनीतिक दलहरूको छलफलपछि संसद् विघटन गर्ने निर्णयसमेत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र आजै साँझ पौने ९ बजे शीतल निवासमा सपथ गराउने तयारी भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै पदभार ग्रहण गर्नेछिन् ।
कार्कीले प्रधानमन्त्रीको शपथसँगै कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पनि मन्त्रीका रूपमा शपथ लिने तय भएको छ । यद्यपि उनीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषय भने टुङ्गो लाग्न बाँकी छ ।
यसअघि दलहरूले संसद् विघटनको विपक्षमा उभिँदै आएका भए पनि अन्ततः अन्तरिम सरकारको विकल्पलाई नै सर्वमान्य समाधानको रूपमा अघि सारिएको छ ।
सुशीला कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश रहेकी थिइन्, र अब अन्तरिम सरकार प्रमुखका रूपमा पुनः ऐतिहासिक भूमिकामा देखिने भएकी छन् ।
प्रतिक्रिया