काठमाडौँ : नेकपा (एमाले)की पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनले नेकपा (एमाले)सहित २ ठुला राजनीतिक दलमा पनि हलचल ल्याएको छ ।
गत १४ असारमा औपचारिक रूपमा आफू एमालेबाट सक्रिय राजनीति गर्ने घोषणा गरेकी भण्डारीको विषयमा एमालेमा २ धार स्पष्ट देखिएको छ ।
भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर फेरि पार्टी काममा फर्किने विषयमा एमाले महासचिव शङ्कर पोखरेलले पार्टीभित्र त्यो विषय कुनै एजेन्डा नबनेको बताउँछन् ।
‘आसन्न विधान महाधिवेशनमा १० औँ महाधिवेशनका प्रतिनिधि मात्रै सहभागी हुने परिभाषित व्यवस्था भएकाले मनोनीत गर्ने अवस्था छैन’, उनले भने ‘यो व्यवस्थाले पार्टी सदस्यता नवीकरण गरे पूर्वराष्ट्रपतिलाई उक्त महाधिवेशनमा प्रतिनिधिका हैसियतले सहभागी हुने बाटो बन्द रहेको प्रस्ट भएको छ ।’
उनको यो भनाइ अनुसार पार्टीले निर्णय गर्ने हो भने पूर्वराष्ट्रपति भण्डारी सहज रूपमा राजनीतिक जिम्मेवारीमा प्राप्त नहुन सक्छ ।
यो विषयमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)समेत सशङ्कित बनेका हुन् । पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किँदा वामपन्थी एकताको लागि सकारात्मक वातावरण बन्न सक्ने माओवादी केन्द्रका सांसद राजन दाहालले बताए ।
‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ । एमाले ओलीको अपहरणबाट मुक्त नभईकन वामपन्थीहरूबिच एकता असम्भव छ’, उनले भने ‘तर पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किँदा वामपन्थी एकताको सकारात्मक सम्भावना छ ।’
तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने विद्याको राजनीतिक आगमनप्रति सशङ्कित छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र भण्डारीबिच भएको भेटवार्ताको विषय पार्टीको सचिवालय बैठकमा समेत उठ्यो । एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको सोचमा तात्त्विक भिन्नता नभएकाले उनलाई पार्टीका नेताहरूले उचाल्न जरुरी नभएको अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।
‘पार्टी बैठकमा यो विषयले प्रवेश पाएपछि थप चर्चा चुलियो’,बैठकमा प्रचण्डको कुरा उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले भने मध्यान्हसँग भने’,‘एमाले राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको आगमनलाई लिएर हाम्रा केही साथीहरूले पनि भेट गर्नुभएको थियो ।
त्यस सम्बन्धमा पार्टी अध्यक्ष कमरेडले ओली र विद्याको सोचमा खासै फरक नभएकाले उनलाई राजनीतिमा उचालिरहन आवश्यक नभएको विषयमा सामान्य चर्चा गर्नुभयो ।’
अध्यक्ष प्रचण्डले नै भण्डारीको विषयमा गम्भीर चासो व्यक्त गरेपछि पार्टीभित्र नारायणकाजी पक्षका नेताहरू असन्तुष्ट बनेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमालेको राजनीतिमा हाम फालेकी भण्डारीलाई अघिल्लो हप्ता भेटेर वाम एकताका लागि सक्रिय राजनीतिमा आउनु स्वागत योग्य भएको बताएका थिए । एमालेमा भण्डारीको पुनरागमनले माओवादीमा पनि नेतृत्वका विकल्प खोज्न बाटो खुल्ने त्रासमा प्रचण्ड रहेको पार्टीकै कतिपय नेताहरू बताउँछन् ।
उता नेपाली काँग्रेसमा पनि विद्याको राजनीतिक चर्चा त्यत्तिकै छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिच केही दिन अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विद्याको राजनीतिक आगमनको चर्चा भएको थियो । २ नेताबिचको भेटमा भण्डारीको राजनीतिक पुनरागमनले राष्ट्रपति पदको गरिमामाथि प्रश्न खडा हुने छलफल भएको प्रधानमन्त्रीको सचिवालय श्रोतको दाबी छ ।
देशको गरिमामय पदमा पुगिसकेका व्यक्तिहरू फेरि राजनीतिमा फर्कँदा लोकतन्त्रप्रति नै गलत सन्देश जाने भएकाले भण्डारीको राजनीतिक पुनरागमन राम्रो नभएको कांग्रेस सभापति देउवाले ओलीलाई बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो पनि यस्तै विचार रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
उनी सक्रिय राजनीतिमा आउँदा अध्यक्ष ओलीलाई आगामी महाधिवेशनमा अध्यक्ष हुनबाट रोक्ने डर छ । उनको राजनीतिक पुनरागमनले कम्युनिष्ट पार्टीबिच एकता हुन सक्ने र ओलीपछि पनि सरकारको नेतृत्वमा आफू पुग्न नसक्ने अवस्था आउने काँग्रेसका सभापति देउवाको आङ्कलन छ ।
यता एमाले अध्यक्ष ओली र उनी निकटका नेताहरू भण्डारीलाई रोक्न पार्टीको विधानमा भएको नेतृत्वको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउन कम्मर कसेर लागेका छन् । त्यसो हुँदा फेरि पनि ओलीलाई नै अध्यक्ष बनाउने उनीहरूको योजना छ । तर एमाले नेता विद्या भण्डारीले भने ओलीले आफैलाई सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।
ओलीकै चाहनाअनुसार ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रयास भएको ओली इतरका नेताहरूले बताउँछन् । महासचिव पोखरेललगायत नेताहरू भण्डारीलाई रोक्ने र फेरि पनि ओलीलाई नै अध्यक्ष बनाउने लाइनमा प्रस्ट लागेको देखिन्छ ।
तर, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने पूर्वराष्ट्रपति भण्डारीलाई आगामी नेतृत्वको विकल्पका रूपमा हेरेका छन् । त्यसैलाई मध्यनजर गर्दै उनले नेतृत्वको लागि पार्टी विधानमा भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था विधान महाधिवेशनबाट पारित गर्नुपर्ने पक्षमा छन् ।
आगामी भदौ तेस्रो हप्ता हुने एमालेको विधान महाधिवेशनको तयारी भइरहँदा भण्डारीको राजनीतिक यात्रालाई लिएर निकै चर्चा हुने गरेको छ । एमालेका पोलिटब्युरो सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिक यात्राले एमाले अझै बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।
२०७४ को निर्वाचनपछि पार्टीको उपाध्यक्षबाट राजीनामा दिँदै राष्ट्रपति बनेकी उनी २०७९ को निर्वाचनपछि ७ वर्षे राष्ट्रपति कार्यकाल सकाएर शीतल निवासबाट निजी निवास फर्केकी थिइन् । त्यसयता सक्रिय राजनीतिमा आउने योजनासहित देशभर विभिन्न कार्यक्रममा हिँडेकी भण्डारीले १४ असारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई छेउमा राखेर पार्टी राजनीतिमा फर्किएको बताएकी थिइन् ।
भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा लिँदै आएको सेवा सुविधासमेत फिर्ता गरेर पार्टीको आगामी नेतृत्वको सङ्केत गर्दै सक्रियताकासाथ राजनीतिमा होमिएकी छन् ।
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया