शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइयो, के भन्छन् प्रहरी प्रमुख कटुवाल ?

आइतबार, ०९ कार्तिक २०८२

लेटाङ : १८ दिनदेखि बेपत्ता रहेकी मोरङको लेटाङ–२ फँडानीकी १३ वर्षीया अंशु गौतमको शव बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा फेला परेपछि स्थानीय मात्रै होइन सबै स्तब्ध बनेका छन् । काेशी प्रदेशभरि त्रास फैलिएको छ । 

जङ्गलको झाडीभित्र टुक्रा–टुक्रा अवस्थामा भेटिएको शव र त्यससँगै फेला परेका अंशुको चप्पल र कपडाहरू हेरेपछि अभिभावकले ती सामग्री उनकै भएको पुष्टि गरे । तर, उनीहरूले शव बुझ्न मानेनन्।

परिवारले शव नबुझेपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले डीएनए परीक्षणका लागि शव भएको ठाउँबाट उठाइएको अंशुको दाँत, खुटाको भाग, भेष्टमा फेला परेको हड्डीको टुक्रा तथा आमा–बुबाको रगतको नमुना सङ्कलन गरी विमानमार्फत काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाएको छ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार डीएनए परीक्षणको नतिजा आउन सामान्यतया एक हप्ताभन्दा बढी लाग्छ । तर यसलाई प्राथमिकतामा राखेर छिटो नतिजा आउन प्रयोगशालासँग समन्वय भइरहेको उनले बताए ।

  ´केही दिनमै रिपोर्ट आउने आशा छ,` उनले भने । घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानलाई द्रुत बनाइएको छ ।

फँडानीमा भेटिएको शव बीभत्स ढङ्गले क्षतविक्षत अवस्थामा भेटिएपछि अनुसन्धान कमजोर नहोस् भनेर जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरेको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि प्रहरी नायव निरीक्षकको नेतृत्वमा अर्को पाँच सदस्यीय टोलीलाई लेटाङ पठाएको छ।

जिल्ला, प्रदेश र स्थानीय प्रहरी तीनवटै निकायका टोलीहरू अहिले फँडानी क्षेत्रमा सक्रिय छन्। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मी पनि अनुसन्धानमा संलग्न छन्।

प्रहरीका अनुसार टोलीले आइतबार अंशुका विद्यालयका सहपाठीहरू र असोज २१ गते उनलाई घरबाट निस्कँदा देखेका स्थानीय व्यक्तिहरूसँग विस्तृत सोधपुछ गरेको छ।

“कतिपयले प्रहरीलाई भनेका छन्— हामीले उनलाई ‘रात पर्‍यो, नजाऊ’ भनेर सम्झाएका थियौँ, तर उनले मानिनन्,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। प्रहरीले बेपत्ता भएपछि पहिला सोधपुछ गरिएका व्यक्तिहरूसँग पनि पुनः भेरिफिकेशन गरेको छ।

प्रहरीले घटनास्थलदेखि शव भेटिएको दुरी, स्थानीय गतिविधि र सम्भावित अपराधीको मनोवृत्ति सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। परिवारका सदस्यहरूसँग पनि फेरि सोधपुछ गरिएको छ।

“हामीले अनुसन्धानलाई अत्यन्त सूक्ष्म रूपमा अघि बढाएका छौँ। अब चाँडै ठोस नतिजा सार्वजनिक हुनेछ,” प्रहरी प्रमुख कटुवालले प्रदेश खबरसँग भने ।

हालसम्म घटनासँग सम्बन्धित कुनै ठोस सुराक नपाए पनि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। यसैबिच विद्यालयका विद्यार्थी, शिक्षक र गाउँलेहरू सबै अंशुको न्यायको माग गर्दै आएका छन्।

एसपी कटुवालले भने, “हामी अनुसन्धानका सबै सम्भावित कोणबाट अघि बढिरहेका छौँ। अपराधीलाई छिटो पहिचान गरेर कारबाहीको दायरामा ल्याउने हाम्रो पहिलो प्राथमिकता हो।” तर घटनास्थलको अवस्था र प्रमाणको सीमितताले अनुसन्धानमा गम्भीर चुनौती थपेको प्रहरीको निष्कर्ष छ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत थिइन् । वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार उनी अत्यन्तै सामान्य र विपन्न परिवारकी बालिका थिइन् ।

‘दुई सातापछि टाउको र शरीर छुट्टिएको अवस्थामा शव भेटिँदा सिङ्गो गाउँ स्तब्ध भयो,’ उनले भने, ‘यस्तो निर्मम अपराधले हाम्रो समाजमा कस्तो विकृति फैलिँदै छ भन्ने प्रश्न उठाएको छ ।’

घटनापछि गाउँमा शोक र आक्रोश दुवै व्याप्त छ । स्थानीय बासिन्दाले घटनालाई योजनाबद्ध हत्या भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

वडाध्यक्ष तिम्सिनाले पनि घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या गरिएको ठम्याउन सकिने बताए ।

‘अंशु हराएको दिनदेखि नै खोजीमा हामी सक्रिय थियौं । तर, यस्तो रूपले भेटिन्छे भन्ने कसैले कल्पना पनि गरेका थिएनौँ,’ उनले भने, ‘अब अपराधीलाई पत्ता लगाएर कानुनको कठघरामा उभ्याउनु पर्छ ।’ 

अंशुको परिवार र आफन्त अहिले पनि न्यायको प्रतीक्षामा छन्। उनीहरूले अपराधी कानुनको कठघरामा ल्याउँदा मात्रै न्याय मिल्ने बताएका छन्।

१८ दिनदेखि बेपत्ता रहेकी बालिकाको शव बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शुक्रवार फेला परेको थियो। शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार