पूर्वराष्ट्रपति भण्डारी असन्तुष्ट : झासँगको भेटबारे गलत प्रचार भएको गुनासो

मंगलबार, १० भदौ २०८२

काठमाडौँ : पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झासँग भएको भेटलाई गलत अर्थ दिँदै प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्।

मङ्गलवार बिहान सवा घण्टा लामो भेटमा भएको संवादलाई आफूअनुकूल व्याख्या गरेर झाले सञ्चारमाध्यममार्फत प्रचार गरेको भन्दै भण्डारी रिसाएकी हुन्।

उनका स्वकीय सचिव राजकुमार राईका अनुसार पूर्वराष्ट्रपति भण्डारी विभिन्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरूसँग नियमित भेटघाट र छलफल गर्दै आएकी छन्। त्यही क्रममा प्रवक्ता झाले समय मागेर भेट गरेका थिए।

झाले सञ्चारकर्मीलाई भण्डारीले सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएको जानकारी दिएका थिए। तर, भण्डारीको सचिवालयले यस्तो अभिव्यक्ति पूर्वराष्ट्रपतिबाट नभएको प्रस्ट पारेको छ।

बरु भेटका क्रममा भण्डारीले आफू निरन्तर छलफलको चरणमा रहेको र एमालेले भदौ २० देखि २२ गतेसम्म आयोजना गर्न लागेको दोस्रो विधान महाधिवेशन पनि हेर्ने बताएकी थिइन्।

भण्डारीलाई भेट्न गएका समूहले ‘अब के गर्नुहुन्छ ? विधान महाधिवेशनमा के गर्नुहुन्छ ?’ भनेर सोध्दा उनले जवाफमा, “एमालेले विधान महाधिवेशन गर्दै छ, त्यो हेर्छु। अहिले म छलफलकै क्रममा छु, प्रदेशतिर संवादका लागि पनि जानेछु” भनेकी थिइन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार