विराटनगर : संघीय लोकतान्त्रिक मोर्चाले विराटनगरमा जनजागरण अभियान सोमबारदेखि सुरु गरेको छ । अभियानअन्तर्गतको कार्यक्रम मंगलबारसम्म चल्ने छ ।
जनता समाजवादी पार्टी (जसपा)को समन्वयमा आयोजित कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै उत्पीडित समुदायको अधिकार र पहिचानका मुद्दा जोडतोडका साथ उठाए । कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका सबै उत्पीडित समुदाय र जातीय समूहले आफ्नो राष्ट्रिय पहिचान खोजिरहेको बताए ।
उनले प्रतिनिधित्व, स्वायत्तता र सुशासन सुनिश्चित नगरी राज्यले अधिकार नदिएको आरोप लगाए । भूमि ऐनको बहानामा वनजंगल मुक्त बनाउने योजना गरेर धनी वर्गलाई मात्र फाइदा पुग्ने खालको नीति ल्याउन खोजिएको भन्दै उनले सरकारप्रति असन्तुष्टि जनाए ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतोले विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गले छुट्टाछुट्टै संघर्ष गर्दा उपलब्धि हात नपरेको स्मरण गरे । उनले अब अधिकार, पहिचान, स्वायत्तता र सुशासनका लागि सबै उत्पीडित समुदाय मिलेर संयुक्त संघर्ष गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आन्दोलनमा योगदान दिएका योद्धाहरूमाथि झुटा मुद्दा लगाएर जेलमा हाल्ने सरकारको चरित्रलाई कडा शब्दमा आलोचना गरे । उनले राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनु ठूलो उपलब्धि भए पनि किसान, मजदुर र उत्पीडित वर्गलाई राज्यले बेवास्ता गर्नु निराशाजनक भएको बताए ।
विशेषगरी उखु किसानको समस्या समाधानमा सरकारले चासो नदेखाउनु गम्भीर अन्याय भएको भन्दै उनले तत्काल समाधानको माग गरे । कार्यक्रममा अन्य नेताहरूले पनि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धि जोगाउन सबै समुदाय सचेत रहनुपर्नेमा जोड दिए । मोर्चाले अभियानलाई देशका विभिन्न सहरमा निरन्तरता दिने जनाइएको छ ।
प्रतिक्रिया