माइजोगमाईमा लम्पी स्किन रोग पुनः फैलिँदै

आइतबार, २९ असार २०८२
File Photo

इलाम : गतवर्ष महामारीको रूपमा पशुमा फैलिएको लम्पी स्किन रोग इलामको माइजोगमाई गाउँपालिकामा पुनः देखा पर्न थालेको छ। पछिल्ला दिनमा रोग तीव्र गतिमा फैलिन थालेपछि स्थानीय किसान र पालिका दुवै सचेत र चिन्तित भएका छन्।

गाउँपालिकाको वडा नं. ५ सोयाङमा १५ वटा माउ गाई, गोरु लगायतका चौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। एक गाईको मृत्यु भइसकेको वडा सदस्य तोकबहादुर बस्नेतले जानकारी दिएका छन्।


वडा नं. ३ को तल्लो भेगमा पनि छ वटा गाई र एउटा बाच्छीमा लम्पी स्किन रोग पुष्टि भएको वडा अध्यक्ष राम घिमिरेले जानकारी दिए। त्यहाँका स्थानीयवासी अहिले रोग झनै फैलिने हो कि भनेर त्रसित छन्।

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख सुमन लावतीका अनुसार,

“वडा नं. ३, ४ र ५ मा रोगको प्रकोप बढी देखिएको छ भने वडा नं. १ र २ मा केही मात्रामा फैलिएको छ। वडा नं. ६ मा भने केही नियन्त्रणमा आएको देखिएको छ।”

उनका अनुसार हालसम्म ७५–८० वटा घरपालुवा चौपायामा संक्रमण फैलिएको अनुमान गरिएको छ।

खोप र औषधि वितरणको तयारी
रोग नियन्त्रणका लागि पालिकाले आकस्मिक छलफल गरी खोप र औषधि वितरण कार्यक्रम मंगलबारदेखि सुरु गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र पशु सेवा शाखा प्रमुखबीच आकस्मिक बैठक बसेर संक्रमित तथा जोखिममा रहेका पशुहरूलाई लक्षित गरेर औषधोपचार र खोप वितरण सुरु गरिने निर्णय लिएको हो।

पालिकाले नजिकका पशु स्वास्थ्य केन्द्रहरू, वडाकार्यालय र किसानहरूलाई रोगको प्रारम्भिक लक्षण देखिनेबित्तिकै रिपोर्ट गर्न र अन्य पशुबाट टाढा राख्न आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार