पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ जेनजी सहिदहरूको अन्त्येष्टि

मंगलबार, ३१ भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निधन भएका नागरिकको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढी श्रद्धाञ्जली अर्पण गरेका थिए।

महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा निकालिएपछि आर्यघाटमा सुरक्षा निकायले मृतकलाई औपचारिक सलामी अर्पण गरेको थियो। आन्दोलनमा ज्यान गुमाएका केही सहिदको पशुपति आर्यघाटमै अन्त्येष्टि गरिएको छ भने केहीको पार्थिव शरीर अन्त्येष्टिका लागि उनी–उनीकै जिल्ला पठाइएको छ।

सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउने सबैलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मंगलबारको अन्त्येष्टि सम्पन्न गरिएको हो।

सरकारले मृतकलाई सहिद घोषणा गर्दै उनीहरूको नाममा ‘जेनजी स्मारक पार्क’ निर्माण गर्ने घोषणा गरेको छ। साथै मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

जेनजी आन्दोलनमा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार