ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

मंगलबार, ३१ भदौ २०८२
साङ्केतिक तस्बिर

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो।

उक्त प्रतिबेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ। त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ।

विभिन्न बैंकहरूको आधारदरमा पनि उल्लेख्य कमी आएको छ। २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत, विकास बैंकहरूको ७.२८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८७ प्रतिशत कायम भएको छ।

गत वर्षको सोही महिनामा वाणिज्य बैंकहरूको आधारदर ७.६१ प्रतिशत, विकास बैंकहरूको ९.२८ प्रतिशत र वित्त कम्पनीहरूको १०.७५ प्रतिशत थियो।

यस्तै, निक्षेप र कर्जाको ब्याजदर पनि घटेको छ। २०८२ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत, विकास बैंकहरूको ४.६७ प्रतिशत र वित्त कम्पनीहरूको ५.८५ प्रतिशत पुगेको छ। गत वर्ष यिनै संस्थाहरूको निक्षेप ब्याजदर क्रमशः ५.६६, ६.४६ र ७.७१ प्रतिशत थियो।

यस्तै, वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर पनि ९.६८ प्रतिशतबाट घटेर ७.७६ प्रतिशतमा झरेको छ। विकास बैंकहरूको कर्जाब्याजदर ११.०७ प्रतिशतबाट घटेर ९.०९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जाब्याजदर १२.३२ प्रतिशतबाट घटेर ९.९८ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार ब्याजदरमा आएको यो गिरावट बजारमा तरलता सहज हुन थालेको संकेत हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार