‘घिसिङको सफलता नै ऊर्जा क्षेत्रको सफलता हो’– कार्यकारी निर्देशक शाक्य

मंगलबार, ३१ भदौ २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घिसिङलाई विभागीय मन्त्रालयको जिम्मेवारी पाएकोमा शुभकामना दिँदै “घिसिङको सफलता नै ऊर्जा क्षेत्रकै सफलता हो” भन्दै समृद्ध नेपालको मंगलकामना व्यक्त गरेका छन्।

सिंहदरबारमा सोमबार भएको पदभार ग्रहण कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव, सहसचिव, अधिकारी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति भए पनि शाक्य भने सहभागी थिएनन्। मन्त्रालयका अधिकारीका अनुसार उनी हाल फ्रान्स हुँदै दक्षिण कोरिया भ्रमणमा रहेका कारण अनुपस्थित भएका हुन्।

विगतमा घिसिङ र शाक्यबीच कार्यकारी निर्देशक पदमा प्रतिस्पर्धा रहँदै आएको थियो। पटक–पटक सरकारले एकलाई हटाएर अर्कोलाई नियुक्त गर्ने निर्णय गरेको इतिहास छ। कार्यकारी निर्देशकबाट पाँच महिनाअघि हटाइएका घिसिङ अहिले मन्त्री बनेका छन्। पदभार सम्हालेपछि उनले उद्योगसँग बाँकी बक्यौता तत्काल उठाउन निर्देशन दिएका छन्।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार