विराटनगर : सुनसरीको इनरुवामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन रहस्यमय तरिकाले मृत भेटिएपछि स्थानियस्तरमा शोक र चासो दुवै फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, सुकदेवलाई बाँसको टाटीबेरा भएको एकतले कच्ची घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको हो । उनकी पत्नी सवेता भने सुत्ने कोठाको ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन् ।
घटनाको जानकारी पाएपछि बिहान करिब ९ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै डीएसपी योगराज खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
एसपी तिम्सिनाका अनुसार, सवेताको माइती मोरङको कदमाह हो र घटनाको जानकारी दिइसकिएको छ । माइती पक्ष र अन्य आफन्त घटनास्थल पुग्न बाँकी रहेको बताउँदै, उनीहरू आएपछि मात्र कानुनी प्रक्रिया अघि बढाइने र शव उठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
हत्या या आत्महत्या ?
घटना एकै घरमा, एउटै समयमा र भिन्न तरिकाले घटेको हुँदा यसबारे सर्वसाधारण र प्रहरी दुवै सतर्क छन् । प्रारम्भिक अनुसन्धानले आत्महत्या वा हत्या, दुबै कोणबाट हेर्ने आधार रहेको संकेत गरेको छ ।
“घटना कसरी भयो भनेर अहिले यकिन भइसकेको छैन, थप अनुसन्धानपछि मात्र वास्तविकता पत्ता लाग्नेछ ।“ प्रहरी प्रमुख तिम्सिनाले बताए।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट करिब ३ किलोमिटर पूर्व पर्छ । अहिले घटनास्थललाई सुरक्षाको घेरामा राखिएको छ र घटनासँग सम्बन्धित सबै पक्षको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया