डिएसपी र सांसद सवार दुर्घटना : सांसद चाम्लिङ भन्छिन्, 'कसरी पो बाँचियो!'

सोमबार, ०५ जेठ २०८२

विराटनगर । कोशी प्रदेशसभा बैठकमा सहभागी हुन आउँदै गरेका चार सांसद सवार गाडी र प्रहरी उपरीक्षक (डिएसपी) सवार कारबीच शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ । दुर्घटनामा दुबै सवारीमा क्षति पुगेको भए पनि सवार व्यक्तिहरू सामान्य घाइते भएका छन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङले दुर्घटनाको क्षण सम्झँदै आफैं चकित भएको बताइन् । "बैठकका लागि आउँदै थियौं, हाम्रो गाडी एक्कासि ठोक्कियो," उनले भनिन्, "जिउ दुखिरहेको छ, अहिले अस्पताल जाँदैछौं, बैठकमा जान सकिएन । कसरी पो बाँचियो!"

दुर्घटनामा परेको कारमा पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल, तथा मोरङकी नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद विद्या चाम्लिङ सवार थिए । गाडी पाँचथरकी सांसद श्रेष्ठको थियो ।

सांसद चाम्लिङका अनुसार पश्चिमबाट आइरहेको कारसँग ठोक्किँदा उनीहरू सवार गाडी सडकमा पल्टिएको थियो । "पश्चिमबाट आइरहेको कार डिएसपीले चलाएका रहेछन्," उनले भनिन्, "भित्रबाट हामीले 'ए ए ए' भन्दाभन्दै कारले ठोक्कायो, हामी ३–४ बल्ड्याङ पल्टियौं । कसरी पो बाँचियो!"

दुर्घटना गराउने कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए  । सांसद सवार गाडीका चालक भेसराज श्रेष्ठको अवस्था पनि सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

दुवै सवारीमा सवार सबैको अवस्था सामान्य रहेको छ भने  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

मोरङमा सांसद चढेको र डीएसपीले चलाएको दुई कार ठोक्किएपछि........

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार