काठमाडौँ : रिलायन्स फाइनान्सले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग एनपिएस–एनसिएस तथा नेपाल पे कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता गरेको छ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको पूर्वाधार तयार भइसकेपछि एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरूलाई कार्ड जारी (इस्यू) तथा कारोबार स्वीकृति (अक्वायरिङ्ग) गर्न आह्वान गरेको थियो।
यसै सन्दर्भमा रिलायन्स फाइनान्सले ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिन कार्ड इस्यू तथा अक्वायर गर्ने तयारी थालेको हो।
एनपिएस–एनसिएस प्रणालीले देशभित्रका विभिन्न कार्ड स्विचहरूलाई एकीकृत गर्दै कार्ड कारोबारको केन्द्रिय स्विचको रूपमा काम गर्नेछ।
यसले डाटा स्थानीयकरण, कारोबार लागत घटाउने र डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
एनसीएचएलले अहिले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ, पीएसपी र १०० भन्दा बढी गैर(बैंकिङ्ग सदस्यहरूसँग काम गर्दै आएको छ।
यस सम्झौतासँगै नेपाल पे कार्डमार्फत डिजिटल भुक्तानी प्रणालीमा नयाँ युगको थालनी हुने विश्वास गरिएको छ।
रिलायन्स फाइनान्सले देशभर २२ शाखामार्फत अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा दिँदै आएको छ।
प्रतिक्रिया