फलोअप समाचार: करोडौँ ठगीमा मुछिएकी सस्मिता प्रहरीको समेत फरार सूचिमा

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौँ तहकी सरकारी कर्मचारी सस्मिता लुइँटेलद्वारा ठगिएको भन्दै थप पीडितहरू अगाडि आउन थालेका छन् । 

प्रदेश खबरले समाचार प्रकाशन गरेपछि झापाको अर्जुनधारा क्षेत्रमा पनि ठगीको सिकार भएका व्यक्तिहरू खुल्न थालेका हुन् । सस्मिता इटहरी उपमहानगरपालिका तथा त्यसअघि अर्जुनधारा नगरपालिकामा कार्यरत रहँदा विभिन्न व्यक्तिहरूबाट करोडौँ रकम उठाएको र फिर्ता नगरेको आरोपमा मुछिएकी हुन् । 

पछिल्लो समय उनी विरुद्ध इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेका छन् र मुद्दा अदालत पनि पुगेको पाइएको छ । 

अर्जुनधारा नगरपालिकामा रहेर कार्यरत रहँदा सस्मिताले आर्थिक सहयोग, ब्याजमा लगानी तथा व्यापारिक साझेदारीको नाममा रकम लिएकी थिइन् । तीमध्ये धेरैलाई उनले चेक दिएर रकम फिर्ता गर्ने आश्वासन दिइन् । तर, दिइएका चेक बाउन्स भएपछि पीडितहरू थप समस्यामा परे ।

एक पीडितका अनुसार अर्जुनधारामा मात्रै करिब ४ करोड जति उठाइएको कुरा छ । पीडितमध्ये कतिपयले अदालतमा मुद्दा दर्ता गरिसकेका छन् भने केही कानुनी परामर्शमै छन् ।

पीडितमध्येकी कुमारी खतिवडाले मुद्दा दर्ता गरेपछि झापा जिल्ला अदालतले २०८१ साल असार २ गते चेक बाउन्स भएको ठहर गर्दै सस्मितालाई रकम तिर्न आदेश दिएको थियो । उनले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिन् । तर, उच्च अदालत विराटनगर इलाम इजलासले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको छ ।

अदालतले पीडितको पक्षमा आदेश दिएको भए पनि सस्मिताले पैसा भने फिर्ता गरेकी छैनन् । 

प्रहरीको नजरमा फरार, तर सामाजिक सञ्जालमा सक्रिय
झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बूका अनुसार सस्मितताविरुद्ध बैङ्किङ कसुरसम्बन्धी उजुरीका आधारमा पक्राउ पुर्जी जारी भइसकेको छ ।

यहाँ दुई वटा फरक–फरक १६ र १८ लाखको मुद्दा दर्ता भएको छ । केही मुद्दा अदालतमा पेस गरिसकेका छौ

उनले भने ।

पक्राउका लागि सबैतिर सर्कुलर गरिसकिएको बताउँदै लिम्बूले फेला पार्नसाथ सस्मितालाई पक्राउ गरिने जानकारी दिए । 

तर, प्रहरीले फरार सूचीमा राखे पनि सस्मिता भने सामाजिक सञ्जालमा सक्रिय देखिन्छिन् । उनले आफूलाई  ‘ह्यारेसमेन्ट’ गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा धम्कीपूर्ण टिप्पणी समेत गरेकी छन् । 

इटहरी उपमहानगरमा समेत अनुपस्थित
इटहरी उपमहानगरपालिका प्रशासनले उनी २ महिनादेखि हाजिर नभएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईका सस्मिताले हाजिर नहुनुको मनासिब कारण देखाएकी छैनन् । ‘९० दिनसम्म मानसिव कारण नदेखाई हाजिर नभएमा त्यसपछि खोजीको प्रक्रिया सुरु हुन्छ ।’ उनले भने ।

सस्मिताले आइतबार उपमहानगरमा हाजिर हुने बताएकी थिइन् । ‘आइतबार हाजिर हुने जानकारी आएको थियो । तर, उहाँ आउनुभएन,’ उपमहानगर स्रोतले प्रदेशखबरसँग भन्यो । 

कानुन कार्यान्वयनप्रति पनि प्रश्न
अदालतले ठगी र चेक बाउन्सजस्ता मुद्दामा सस्मितताविरुद्ध फैसला गरिसकेको छ । अदालतले एउटा खालको निर्णय लिइसक्दा पनि अभियुक्त खुलेआम हिँड्न पाउनु न्यायको अपमान भएको कानुनका विज्ञहरू बताउँछन् । 

अदालतको आदेश आउनसाथ प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने हो । अदालतको आदेश कार्यान्वयन गराउनु प्रहरीको समेत जिम्मेवारी हो । ‘यस किसिमको मुद्दामा प्रहरीले तुरुन्त गिरफ्तार गरेर अदालतको आदेश कार्यान्वयन गराउनु पर्छ । त्यो नगरेमा आम नागरिकको न्यायप्रणालीप्रतिको विश्वास ह्रास गराउँछ।

एक जना वरिष्ठ अधिवक्ताले भने । 

को हुन् सस्मिता ?
पैसा ठगिएको गुनासो सहित आउनेको भीड, इलाका प्रहरी कार्यालय इटहरीमा परेको उजुरी, बाउन्स चेकका साथै पीडामा परेकाको गुनासो सहितका आधारमा प्रदेश खबरले सस्मिताको ठगीका सन्दर्भमा समाचार सम्प्रेषण गरेको थियो । 

उनीको जन्मस्थान सुनसरीको दुहबी हो । सानै उमेरमा बुबाको निधन भएपछि उनी मावलीमा हुर्किइन्, तर उनको माइती हाल पनि दुहबीमै रहेको छ । पारिवारिक स्रोतका अनुसार उनीहरूको आर्थिक अवस्था सामान्य नै रहेको छ । 

सस्मिता आफैँ अधिकृत पदमा रहे पनि परिवारले ठुलो सम्पत्ति जोडेको देखिँदैन । उनका श्रीमान् भुवन केसी पूर्व गैरसरकारी संस्थामा कार्यरत थिए भने ससुरा नेकपा एमालेका जिल्ला सदस्य हुन् ।

उनी २०७९ को स्थानीय चुनावमा कांग्रेसबाट टिकट नपाएपछि ससुरा एमाले प्रवेश गरेका थिए । सस्मिताको बसोबास अर्जुनधारामै रहेको अदालतको फैसला पत्रमा उल्लेख छ । तर, इटहरीमा सरुवा भएपछि उनी इटहरीमै रहेको बताइन्छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार