कोसी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, दिगो विकास र सुशासनमा जोड (पूर्णपाठ)

सोमबार, ०५ जेठ २०८२

इटहरी । कोसी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ। प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा कोसी प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गरेको यस नीति तथा कार्यक्रममा प्रदेशको दिगो विकास, वित्तीय सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता दिइएको छ।

नीति तथा कार्यक्रमले प्रदेश संरचनाको सुदृढीकरण र संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गरेको छ। यसका लागि आन्तरिक राजस्व वृद्धि, स्रोतको दीर्घकालीन व्यवस्थापन र नीतिगत सुधारलाई प्रमुख आधार मानिएको छ। आर्थिक आत्मनिर्भरता र वित्तीय पारदर्शिताका लागि शासकीय सुधारमार्फत स्रोत परिचालनलाई सुदृढ गर्ने योजना प्रस्तुत गरिएको छ।

प्रदेश सरकारको दिगो विकास योजनामा भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, ऊर्जा र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। यसै अन्तर्गत, 'कोसी पर्यटन वर्ष २०८२' लाई आधार वर्षका रूपमा लिइ राष्ट्रिय पुँजी विकास गर्ने लक्ष्य राखिएको छ। पर्यटक भित्र्याउन नीतिगत, संरचनागत सुधार र पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिइने बताइएको छ।

प्रदेश लगानी सम्मेलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक-निजी साझेदारी तथा सहकारी अवधारणामा आधारित परियोजना विकासलाई प्रोत्साहित गरिने योजना समेत समावेश गरिएको छ। यसले स्थानीय लगानी प्रवाहलाई गति दिई प्रदेशको समग्र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

शासकीय सुधारका लागि सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन नीतिगत पुनरावलोकन, संस्थागत पुनर्संरचना र प्रशासनिक सुधारमा जोड दिइने उल्लेख गरिएको छ। जनतासँगको सीधा सम्पर्क, सेवा प्रवाहमा पारदर्शिता र नीतिगत स्पष्टतालाई प्राथमिकता दिँदै सुशासन प्रवर्द्धनको योजना अघि सारिएको छ।

प्रदेश सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धिसँगै वातावरण संरक्षण र जलवायु परिवर्तनका असरलाई समेत ध्यानमा राखेर सन्तुलित र दिगो विकासका योजना अघि सारेको बताइएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार