इटहरी । मोरङको रंगेलीमा यात्रुबहाक बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ भने त्यसपछि आक्रोशित स्थानीयले बसमा तोडफोड गरेका छन्। रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७, निचामारी चोकमा सोमबार दिउँसो भएको यस दुर्घटनामा १३ वर्षीया मीरा मण्डलको ज्यान गएको हो।
दुर्घटना दिउँसो २ः२० बजेतिर भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले बाटो काट्ने क्रममा मण्डललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी मण्डललाई तत्काल उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुगेपछि दिउँसो २ः४० बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
दुर्घटनापछि स्थानीयको आक्रोश बढ्दै जाँदा बसमा ढुंगामुढा र तोडफोडको घटना भएको छ। तोडफोडका क्रममा बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा बालिकाले अचानक बाटो काट्दा बसले ठक्कर दिएको पाइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
घटनापछि स्थिति तनावपूर्ण बन्दै गएपछि चालकले यात्रुसहितको बस भगाएर इलाका प्रहरी कार्यालय रंगेली पुर्याएका थिए। बसमा तोडफोड हुँदा १०–१५ जना यात्रु पनि बसभित्र रहेका थिए। यद्यपि, तोडफोडका क्रममा कुनै पनि यात्रु घाइते भएको छैन।
प्रतिक्रिया