विराटनगरका उत्कृष्ट १० संस्थागत शैक्षिक संस्था

सोमबार, ०४ बैशाख २०८०
कोशी प्रदेशको राजधानी विराटनगर पछिल्लो समय ‘शैक्षिक हब’ का रुपमा विकसित भएको छ । मुलुकमा औद्योगिक सुरुवात, राजनीतिक अगुवाईका साथै अरु धेरै क्षेत्रमा अग्रणी रहेको विराटनगर पछिल्लो समय स्वास्थ्य र शिक्षा क्षेत्रका लागि पनि अब्बल देखिएको छ । यहाँ गुणस्तरीय पढाइ हुने विद्यालय र कलेजहरु सञ्चालनमा छन् । पहिले काठमाडौं र अन्यत्र पढाइका लागि जाने विद्यार्थीहरु पछिल्लो समय विराटनगरतिर आकर्षित भइरहेका छन् । सुविधासम्पन्न शैक्षिक संस्थाहरुमा दक्ष शिक्षक, शिक्षिकाहरुले अध्यापन गराउने भएकाले यहाँको शैक्षिक उपलब्धि पनि मुलुकका अन्य स्थानको तुलनामा उत्साहजनक पाइन्छ । विद्यालयको भौतिक पूर्वाधार, जनशक्ति, नियमित शैक्षिक गतिविधिमा प्रगति, गुणस्तर एवं अतिरिक्त क्रियाकलापमा सफलताजस्ता विभिन्न मापदण्डका आधारमा हामीले विद्यालयहरुको मूल्यांकन गरेका हौं । यसै सन्दर्भमा हामीले विराटनगरका चर्चित विद्यालयहरुबारे जानकारी संकलन गरी प्रस्तुत गर्ने जमर्को गरेका छौं । यहाँ समेटिएका बाहेक अरु केही विद्यालयहरु पनि चर्चित छन् । तर हाम्रो सम्पर्कमा ती विद्यालयका सञ्चालक विद्यालयबारे जानकारी दिन इच्छुक देखिएनन् । जानकारी प्राप्त भएका विद्यालयहरुबारे हामीले यो सामग्री प्रस्तुत गरेका हौं । सगरमाथा बोर्डिङ स्कुल विराटनगरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्थागत विद्यालयमध्ये अग्रणी हो– सगरमाथा बोर्डिङ स्कुल । २०५३ सालमा स्थापित यस विद्यालयमा स्थापना कालमा करिब ६ सय विद्यार्थी थिए । हाल करिब १५ सय विद्यार्थी रहेको प्रधानाध्यापक त्रिलोचन गौतमले जानकारी दिए । कक्षा १२ सम्मको अध्यापन हुँदै आएको विद्यालयमा यस पटकको एसईई परीक्षामा सयजना विद्यार्थी सहभागी थिए । यस अघिका एसईई परीक्षाहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल यस विद्यालयले यसपटक पनि त्यस्तै नतिजा ल्याउने विश्वास लिएको छ । प्राज्ञिक क्षेत्रका युवाहरुको पहलबाट स्थापना भएका कारण यस विद्यालयको पठनपाठन उत्कृष्ट रहेको प्रधानाध्यापक गौतमको दाबी छ । विद्यार्थीको भावना, दक्षता, क्षमता लगायतका विषयमा गहन अध्ययन गरी आवश्यकता अनुसारको शिक्षा प्रदान गर्दै आएको छ । अनुशासनलाई मूल मन्त्र मनाएको यस विद्यालयले कमजोर विद्यार्थीको समस्यालाई व्यक्तिगत रूपमा पहिचान गरी उसमा भएको कमजोरीको अध्ययन गरी अभिभावकको सहायतामा समाधान निकाल्ने र क्षमता अनुसारको पठनपाठन गर्ने गराउने गरिएको छ । विद्यार्थी संख्या बढाउने भन्दा पनि भएका विद्यार्थीलाई उत्कृष्ट शिक्षण सिकाइ गर्ने गरिएको विद्यालयको भनाइ छ । समय समयमा अभिभावकहरूसँग छलफल गरेर आएका सुझाव र सल्लाहलाई मध्यनजर गर्दै शिक्षण सिकाइ प्रक्रिया अघि बढाउने गरिएको छ । यस विद्यालयबाट करिब ३ हजारभन्दा धेरै विद्यार्थी एसईईमा सामेल भइसकेका छन् भने हालसम्मको नतिजा पनि उत्साहजनक रहेको प्रधानाध्यापक गौतमको भनाई छ । विद्यालयबाट उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका करिब ५ सयभन्दा धेरै विद्यार्थी डाक्टर बन्न सफल भएका छन् । नेपालका विभिन्न उच्च पदस्थ क्षेत्रमा आफ्ना धेरै विद्यार्थी रहेको उल्लेख गर्दै प्रधानाध्यापक गौतमले उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा पुगेका विद्यार्थी पनि उल्लेख्य रहेको बताए । प्रविधिमैत्री वातावरणमा अध्यापन गराउने योजना बनाएको यस विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सफलता हात पारेको छ । अतिरिक्त क्रियाकलापमा विभिन्न विषयका विषयगत शिक्षकहरूको व्यवस्था गरिएका कारण पनि अतिरिक्त क्रियाकलापमा विद्यार्थीले उदाहरणीय नतिजा हासिल गर्न सफल भएका छन् । एभरेस्ट सेकेन्डरी स्कुल विराटनगरको अर्को अग्रणी संस्था हो एभरेस्ट सेकेन्डरी स्कुल । २०५० सालमा स्थापित यस विद्यालयले छुट्टै पहिचान बनाउन सफल भएको छ । करिब ८० जना विद्यार्थीसहित कक्षा ४ सम्मको अनुमति लिँदै स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्ममा २ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा प्रमाणपत्र तहसहित एभरेस्ट कलेजका नामबाट स्नातक तहसम्मको अध्ययन अध्यापन गराउँदै आएको छ । उत्कृष्ट शिक्षण सिकाइ क्रियाकलाप भएका कारण पनि विद्यालय होस या कलेज दुवै अभिभावकको रोजाइमा पर्ने गरेको छ । २०७९ सालमा सम्पन्न एसईईमा १ सय ६६ जना विद्यार्थी सहभागी रहेको विद्यालयका प्रधानाध्यापक टिका पुरीले जानकारी दिए । २०५७ सालबाट एसईई (तत्कालीन एसएलसी) परीक्षामा सहभागिता जनाएको यस विद्यालयले हरेक वर्ष सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको छ । उत्कृष्ट नजिताकै कारण विद्यालयले ५ पटक राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको प्रधानाध्यापक पुरीको भनाई छ । उनका अनुसार २०७४ सालमा कक्षा १२ को परीक्षामा एभरेस्टका विद्यार्थीले नेपालमै दोस्रो स्थान हासिल गर्न सफल भएको थिए । एभरेस्ट कलेजबाट उत्तीर्ण भएर अन्य कुनै स्थानमा गएका विद्यार्थीले उत्कृष्ट कार्यसम्पादन गरेका प्रशस्तै उदाहरण रहेको प्रधानाध्यापक पुरीको भनाई छ । आधुनिक प्रविधि प्रयोगमा अगाडि रहेको यस विद्यालयले आवश्यकताका आधारमा शिक्षक तथा शिक्षिकालाई विषयगत तालिम दिने गरेको छ । शिक्षा व्यावहारिक र सीपमूलक हुनुपर्छ, विद्यार्थीले नेपाली परम्परा, संस्कृति, रहनसहन, भेषभुषा लगायतका विषयमा जान्न महत्वपूर्ण हुन्छ भन्ने कुरालाई विशेष ध्यान दिने गरिएको छ । विद्यार्थीलाई असल नागरिकको परिचय दिन आवश्यक सम्पूर्ण कुराहरूका विषयहरूलाई समेटेर अध्ययन अध्यापन हुने गरेको प्रधानाध्यापक पुरीले जानकारी दिए । विराटनगरको गर्मीलाई मध्यनजर गर्दै प्रत्येक कक्षा कोठामा वातानुकूलित उपकरण (एसी) को व्यवस्था गरिएको उनले बताए । सुविधा सम्पन्न आफ्नै भवन भएको यस विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अग्रसर रहने गरेको छ । आफ्नै फुटबल ग्राउन्ड, बास्केट बल कोर्ट, स्विमिङ पुल, भलिबल ग्राउन्ड लगायतको व्यवस्था गरेको यस विद्यालयले कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीले कुनै न कुनै अतिरिक्त क्रियाकलापमा अनिवार्य भाग लिनै पर्ने व्यवस्था गरेको प्रधानाध्यापक पुरीले जानकारी दिए । कोसी विद्या मन्दिर विराटनगरको शैक्षिक विकासमा योगदान गर्ने संस्थागत विद्यालयहरूमध्ये कोसी विद्या मन्दिर पनि एक हो । विराटनगर महानगरपालिका वडा नम्बर १० मा रहेको यो विद्यालय २०५१ सालमा स्थापना भएको थियो । ८० जना विद्यार्थीलाई लिएर सुरुवात भएको विद्यालयमा हाल१ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । भरखरै सम्पन्न एसईई मा ३४ जना विद्यार्थी सहभागी रहेको विद्यालयका व्यवस्थापक राजेशकुमार दासले जानकारी दिए । विद्यार्थी संख्या बढाउनु पर्छ भन्ने कुरालाई पर राख्दै भएका विद्यार्थीहरूलाई गुणात्मक शिक्षा दिनुपर्छ भन्ने मान्यता राख्ने यस विद्यालयमा शुल्क पनि अन्य विद्यालयको भन्दा न्यून रहेको व्यवस्थापक दासको भनाइ छ । कोसी विद्या मन्दिरको कुनै पनि विद्यार्थी अध्ययनमा कमजोर रहेको अवस्थामा उसको व्यक्तिगत मनोविज्ञानको अध्ययन गरेर आवश्यकता अनुसार शिक्षण प्रदान गर्ने गरिएको छ । अतिरिक्त क्रियाकलाप पनि उत्तिकै अब्बल रहेको यस विद्यालयमा अतिरिक्त विषयका छुट्टाछुट्टै विषयगत शिक्षकहरूको व्यवस्था गरिएको छ । साइन्स ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी लगायतको राम्रो व्यवस्था रहेको यस विद्यालयमा विराटनगर महानगरपालिकाका २२ वटै वडाका विद्यार्थीहरू अध्ययनरत रहेको व्यवस्थापक दासले जानकारी दिए । अरनिको सेकेन्डरी बोर्डिङ स्कुल विराटनगरका अग्रणी विद्यालयको नाम लिनुपर्दा अरनिको सेकेन्डरी बोर्डिङ स्कुल पनि अग्रपंक्तिमा आउँछ । २०३३ सालमा स्थापना भएको यस विद्यालयको स्थापना कमला कुँवर र राजबहादुर कँुवरले गरेका थिए । विद्यालयले १२ कक्षा सञ्चालन गर्दै गर्दा उक्त विद्यालयमा निलम अधिकारी लगायतको टिम व्यवस्थापकका रूपमा भित्रिएको थियो । २०५५ सालमा अधिकारी प्रवेश गर्दै गर्दा नै उक्त विद्यालयमा झन्डै १३ सय भन्दा धेरै विद्यार्थी थिए । हाल अरनिको सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १० सम्ममा ८ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । विद्यालयको प्रतिनिधित्व गर्दै यसपटकको एसईईमा ५८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । अघिल्ला वर्षहरूमा उत्कृष्ट नतिजा निकाल् सफल भएको यस विद्यालयले आउने वर्षहरूमा पनि सोही नतिजालाई निरन्तरता दिने विश्वास लिएको छ । आफ्नै सुविधा सम्पन्न भवनसहित सम्पूर्ण पूर्वाधारहरूमा अब्बल रहेको यस विद्यालयमा विभिन्न खेलकुद क्रियाकलापका लागि आफ्नै सुविधा सम्पन्न खेल मैदान पनि रहेको विद्यालयका व्यवस्थापकमध्येका एक निलम अधिकारीले जानकारी दिए । तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट अध्यापन गराइने यस विद्यालयमा आधुनिक प्रविधिको प्रयोगबाट अध्ययन अध्यापन हुँदै आएको छ । प्रविधियुक्त पाठ्यपुस्तकको प्रयोगबाट नै शिक्षण सिकाइ क्रियाकलाप गरिँदै आएको व्यवस्थापक अधिकारीले जानकारी दिए । अन्तरक्रियात्मक शैलीमा पठनपाठन हुँदै आएको यस विद्यालयमा एउटा कक्षा कोठामा ३५ विद्यार्थीभन्दा धेरै राख्ने गरिएको छैन । नगर तथा जिल्ला स्तरबाट आयोजना गरिने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उत्कृष्ट नतिजा निकाल्ने गरेको व्यवस्थापक अधिकारीले जानकारी दिए । मोर्डन एरा सेकेन्डरी बोर्डिङ स्कुल विराटनगरका उत्कृष्ट शैक्षिक संस्थाहरु मध्यको अर्को विद्यालय हो मोर्डनएरा सेकेन्डरी बोर्डिङ स्कुल । २०५६ सालमा स्थापना भएको यस विद्यालयले कक्षा ५ सम्मको अनुमति लिदै स्थापना भएको थियो । ५० जना विद्यार्थीबाट सुरु भएको मोर्डनएरा सेकेन्डरी बोर्डिङ स्कुलमा हाल ८ सय ४२ जना विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिक वर्षमा झन्डै ८२ जना विद्यार्थीलाई एसईईमा सहभागी गराएको यस विद्यालयले यस वर्षको २०७९ को एसईईमा ६६ जना विद्यार्थीलाई सहभागी गराएको थियो । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा रहेको यस विद्यालयले सबै विद्यार्थीको बुझ्न सक्ने क्षमता समान बनाउने उद्देश्यले केही कमजोर विद्यार्थीहरूलाई स्कुल सुरु हुनु भन्दा पहिले वा स्कुल सकिएपछि स्कुलमा नै बोलाएर अध्यापन गर्ने गरेको छ । एसईई नतिजा अनुसार मोर्डनएरा सेकेन्डरी बोर्डिङ स्कुल नेपालमा सबैभन्दा उत्कृष्ट नतिजा निकाल्न सफल संस्थागत विद्यालय रहेको विद्यालयका प्रधानाध्यापक इन्द्र राईको दाबी छ । यसै विद्यालयबाट उत्तीर्ण आयुस खनालले काठमाडौँको शंकरदेव कलेजबाट बिबिए पहिलो वर्षमा त्रिभुवन युनिभर्सिटी अन्तर्गत नेपाल टप गर्न सफल भएको साथै सोही विद्यालयबाट उत्तीर्ण केही विद्यार्थीहरूले एम विविएसमा स्कलरसिपमा नाम निकालेर कुनै पनि शुल्क बिना अध्ययन गरिरहेको उदाहरण प्रशस्तै रहेको प्रधानाध्यापक राईले जानकारी दिए । अतिरिक्त क्रियाकलापका लागि अनुभवी शिक्षकको व्यवस्था रहेको राईको भनाई छ । प्रधानाध्यापक राई भन्छन् ‘मोर्डनएरा सेकेन्डरी बोर्डिङ स्कुल सङ्गीत सिक्नेका लागि सङ्गीत विद्यालय हो, नृत्य सिक्नेका लागि डान्स सेन्टर हो भने फुटबल तथा क्रिकेट खेल्नेका लागि उत्कृष्ट फुटबल तथा क्रिकेट क्लब हो । यहाँ सबै विषयका उत्कृष्ट प्रशिक्षकहरू हुनुहुन्छ ।’ कक्षा १ भन्दा तलका कक्षाहरूका लागि छुट्टै भवन रहेको र प्रि–स्कुलका रूपमा छुट्टै शैलीमा पठनपाठन तथा हेरबिचार गर्ने गरिएको छ । विद्यालयमा रहेको व्यवस्थापन पक्ष पनि मजबुत रहेको बताउँदै प्रधानाध्यापक राईले विद्यालय व्यवस्थापनमा रहेका हरेक व्यवस्थापक शिक्षणका लागि परिपक्व रहेको बताए । बुढानीलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुल बुढानीलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुल पनि विराटनगरका उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यको एक हो । २०४० सालमा स्थापना भएको यस विद्यालयले विराटनगरको शैक्षिक विकासमा निकै योगदान पुर्याएको छ । बुढानीलकण्ठ सेकेन्डरी बोर्डिङ स्कुलमा हाल ११ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक मण् िभट्टराईले जानकारी दिए । विराटनगर महानगरपालिका वडा नम्बर २ मा रहेको यस विद्यालयबाट भरखरै सम्पन्न एसईईमा ८६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक भट्टराईले जानकारी दिए । यस अघिका वर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका कारण यस वर्षको एसईईमा पनि उत्कृष्ट नतिजा ल्याउने कुरामा विद्यालय प्रशासन आशावादी देखिएको छ । विद्यार्थीको मनोविज्ञान अध्ययन गरेर अध्ययन अध्यापन गराइने भएका कारण पनि यस विद्यालयमा विद्यार्थीहरूको राम्रो उपस्थिति देखिएको छ । विभिन्न समयमा शिक्षक शिक्षिका तथा विद्यार्थीहरूलाई समेत आवश्यकता अनुसारको तालिममा सहभागी गराउने गरिएको छ । अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल यस विद्यालयले विषयगत छुट्टाछुट्टै विषयका शिक्षक शिक्षिकाहरूको व्यवस्था गरेको छ । आउने शैक्षिक सत्रबाट केही फरक शैलीमा प्रविधिहरूको प्रयोगबाट शिक्षण सिकाइको सुरुवात गर्ने तयारीमा रहेको यस विद्यालयले पारिवारिक वातावरणमा शिक्षण सिकाइ गर्दै आएको प्रधानाध्यापक भट्टराईको भनाइ छ । शिक्षादीप सेकेन्डरी बोर्डिङ स्कुल विराटनगरको शैक्षिक विकासमा योगदान गर्ने अको संस्थागत विद्यालय हो– शिक्षादीप सेकेन्डरी बोर्डिङ स्कुल । २०५३ सालमा स्थापना भएको यस विद्यालयले २०६४ सालबाट कलेज सञ्चालनको अनुमति प्राप्त गर्दै सञ्चालनमा आएको छे । विशेष गरी उच्च शिक्षालाई प्राथमिकता दिएको यस विद्यालयले २०६४ सालमा नयाँ व्यवस्थापन सहित विद्यालयको सुरुवात गरेको थियो । करिब २ सय विद्यार्थीबाट सुरु भएको यस विद्यालयमा हाल कक्षा १० सम्ममा करिब ५ सय विद्यार्थी छन् भने कक्षा ११ र १२ मा गरी २५ सयभन्दा धेरै विद्यार्थी रहेको प्रधानाध्यापक ज्ञानबहादुर खड्काले जानकारी दिए । २०७९ सालको एसईईमा ४२ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक खड्काले जानकारी दिएका छन् । शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा निकाल््न सफल भएको छ । अतिरिक्त क्रियाकलापहरू अन्तर्गत नृत्य, फुटबल खेल, हाजिर जवाफ प्रतियोगिता, वक्तृत्वकला लगायतका विभिन्न नगर तथा जिल्ला स्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । तालिमप्राप्त शिक्षक शिक्षिकाहरूबाट शिक्षण गरिँदै आएको यस विद्यालयमा विभिन्न समयमा शिक्षक शिक्षिकाहरूलाई आवश्यकताका आधारमा तालिमको व्यवस्था गर्ने गरिएको प्रधानाध्यापक खड्काले जानकारी दिए । विद्यालयले कक्षा १० सम्म सञ्चालन गर्दै आएको भए पनि पठन पाठनका हिसाबले विशेष गरी कक्षा ११ र कक्षा १२ लाई प्राथमिकता दिने गरेको प्रधानाध्यापक खड्काले जानकारी दिए । मदरटेरेसा सेकेन्डरी बोर्डिङ स्कुल विराटनगरका उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा मदरटेरेसा सेकेन्डरी बोर्डिङ स्कुल पनि एक उत्कृष्ट शैक्षिक संस्था हो । यो संस्थागत शिक्षण संस्थाको स्थापना २०५४ सालमा भएको थियो । कक्षा ८ सम्मको अनुमति लिएर सुरु भएको यस विद्यालयमा सुरुवातको समय करिब ३ सय विद्यार्थी थिए । हाल विद्यालयमा करिब ६ सय ५० भन्दा धेरै विद्यार्थी छन् । कक्षा ११ र १२ को सञ्चालन अनुमति पनि प्राप्त गरिसकेको विद्यालयका अध्यक्ष सञ्जय यादवले जानकारी दिए । यस पटकको एसईईमा विद्यालयबाट २३ जना विद्यार्थी सहभागी रहेको अध्यक्ष यादवले जानकारी दिए । विद्यालयले आउने शैक्षिक वर्षबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि केही योजनाहरू बनाएको छ । प्रविधिमैत्री शिक्षा र व्यावहारिक शिक्षालाई जोड दिँदै विद्यालयले प्रविधियुक्त स्मार्ट बोर्डहरू राख्ने तयारी गरेको छ । विद्यालयले आउने शैक्षिक वर्षबाट १२ कक्षासम्म सञ्चालन गर्ने योजना बनाएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षक तथा शिक्षिकाहरूलाई नियमित आवश्यकताअनुसार विषयगत तालिम प्रदान गर्ने गरिएको छ । तालिमप्राप्त शिक्षक शिक्षिकाबाट पठनपाठन गराइँदै आएको छ भने आवश्यकताका आधारमा शिक्षक शिक्षिकाहरूलाई समय समयमा तालिमको व्यवस्था गर्ने गरिएको छ । विद्यालयमा व्यावहारिक शिक्षालाई विशेष जोड दिएर पठनपाठन हुने गरेको अध्यक्ष यादव बताउँछन् । कमजोर विद्यार्थीलाई विद्यालय व्यक्तिगतरुपमा अध्ययन गरी आवश्यकता अनुसार विद्यालयभन्दा फरक समयमा समेत निःशुल्क शिक्षण गदै आएको छ । लिलिपुट सेकेन्डरी बोर्डिङ स्कुल विराटनगरका उत्कृष्ट संस्थागत विद्यालयहरूमध्ये लिलिपुट सेकेन्डरी बोर्डिङ स्कुल पनि हो । २०६६ सालमा स्थापित यस विद्यालयमा हाल ८ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक चिरञ्जीवी तिमल्सिनाले बताए । परम्परागत परीक्षा प्रणाली भन्दा केही भिन्न शैली अपनाएर शिक्षण सिकाइ क्रियाकलाप गर्दै आएको यस विद्यालयले आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गर्दै गराउँदै आएको छ । काठमाडौँ विश्वविद्यालयको सहकार्यमा स्ट्रिट प्रणाली (साइन्स टेक्नोलोजी इन्जिनियरिङ, आट्र्स एन्ड डिजाइन, र म्याथम्याटिक्स) मा रहेर अध्ययन अध्यापन गर्ने गरिएको छ । यो पद्दतिको अध्ययन अध्यापन हुने हालसम्ममा कोसी प्रदेशमा अर्को नभएको विद्यालयको दाबी छ । यो विद्यालय ब्रिटिस काउन्सिलको इन्टरनेश्नल अवार्ड विजेता पनि हो । यस्तै, कारखाना नामक शैक्षिक संस्थाको स्ट्रिट मोडल स्कुलका रूपमा समेत रहेको लिलिपुट सेकेन्डरी बोर्डिङ स्कुलले विद्यार्थीहरूको सहभागिता मूलक शिक्षणलाई जोड दिँदै आएको छ । ग्रेडेड सकेन्डरी बोर्डिङ स्कुल अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने विराटनगरको अर्को विद्यालय हो– ग्रेडेड सकेन्डरी बोर्डिङ स्कुल । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको यस विद्यालयको स्थापना २०५२ सालमा स्थापना भएको थियो । केशवलाल सिंह सुवालले करिब ४० जना विद्यार्थीहरू सहित विद्यालय सुरु गरेका थिए । हाल ८ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । २०७९ सालको एसईईमा ३३ जना विद्यार्थी सहभागी रहेको विद्यालयका प्रधानाध्यापक प्रेम सुवालले जानकारी दिए । अघिल्ला वर्षहरूमा उत्कृष्ट नतिजा निकाल्दै आएको साथै यस वर्ष समेत उत्कृष्ट नतिजालाई निरन्तरता दिनेमा विद्यालय विश्वस्त देखिएको छ । अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरेको यस विद्यालयले विभिन्न समयमा प्याप्सन, नगर, जिल््ला स्तरका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल हुँदै आएको छ । अतिरिक्त क्रियाकलाप अब्बल रहेको यस विद्यालयले नगर तथा जिल्ला स्तरबाट हुने विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । प्रविधिको प्रयोगबाट अध्ययन गराउनका साथै विद्यार्थीहरूलाई प्रविधिमैत्री बन्न सिकाउने शिक्षण प्रणालीको विकास गर्दै जाने योजना विद्यालयले बनाएको छ । आफ्नो विद्यालयबाट अध्ययन सकेर बिदा हुँदै गर्दा विभिन्न विश्वविद्यालयहरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका प्रशस्तै उदाहरणहरू रहेको प्रधानाध्यापक सुवालले जानकारी दिएका छन् । प्रत्येक कक्षा कोठामा प्रोजेक्टर लगायतका आधुनिक प्रविधिहरू जडान गरिएको उल्लेख गर्दै प्रधानाध्यापक सुवालले आउने शैक्षिक वर्षबाट प्रोजेक्टर लगायतका शिक्षण सामग्री थप गर्ने योजना रहेको सुनाए ।                                                                                                         शब्द-मनोज दाहाल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार