विराटनगर : अदालतको आदेशपछि मोरङको विराटनगरमा अवस्थित मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि शनिबार पुनः मतदान सम्पन्न भएको छ। विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत पर्ने यस आयोजनामा पूर्वको निर्वाचन विवादित बनेपछि अदालतको आदेशअनुसार दोस्रोपटक मतदान गराइएको हो।
शनिबार बिहान सवा ७ बजेदेखि सुरु भएको मतदान विराटनगर–१ स्थित पुष्पलाल चोक नजिकको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता क्याम्पसमा साँझ ५ बजेसम्म सञ्चालन भएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कुल ५ हजार ९ सय ८८ मतदातामध्ये ३ हजार ९ सय ६४ जनाले मतदान गरेका थिए। २ हजार २४ मतदाता भने अनुपस्थित रहेका छन्। कुल १२ वटा मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
यस आयोजनाको नेतृत्व चयनका लागि २०८१ जेठ १९ गते पहिलोपटक मतदान गरिएको थियो। तर सो निर्वाचनको परिणाममाथि विवाद उत्पन्न भएपछि विषय अदालतसम्म पुगेको थियो। खसेको मत नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसहित तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। अर्कोतर्फ, टंकप्रसाद खतिवडालगायत तीन जनाले भने पुनः मतदान हुनुपर्ने माग गर्दै छुट्टै रिट दायर गरेका थिए।
उक्त विवादमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले गत फागुन २६ गते पुरानै उम्मेदवार र मतदाता कायम राखी पुनः मतदान गर्न आदेश दिएको थियो। अदालतले २०८१ जेठ १९ गते बिहान ९ बजेको अवस्थाबाट प्रक्रिया पुनः सुरु गर्न आदेश दिएको हो।
अध्यक्ष पदका लागि यसपटक तीन प्यानल प्रतिस्पर्धामा छन्। लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंले नेतृत्वका लागि उम्मेदवारी दिएका छन्। भट्टराई र घिमिरे नेकपा (एमाले) निकट हुन् भने चापागाईं नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। घिमिरे एमालेको संस्थापन पक्षबाट, भट्टराई भने सोही पार्टीको विनोद ढकाल समूहद्वारा सिफारिस उम्मेदवार हुन्।
पछिल्लो विवादसँग जोडिँदै एमालेले आफ्नै आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै विराटनगर महानगर कमिटीका तत्कालीन अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो। यद्यपि, थापा पछिल्लो समय एमाले मोरङको उपाध्यक्षमा निर्वाचित भइसकेका छन्।
मतदान सकिएपछि उम्मेदवार प्रतिनिधिहरूसँगको छलफलपछि मतगणनाको प्रक्रिया सुरु गरिने जनाइएको छ।
प्रतिक्रिया