झापा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा जिल्ला कार्यसमितिले अनिवार्य रूपमा तोकिएका पब्लिकेशनका पाठ्यपुस्तक प्रयोग गर्नुपर्ने निर्देशन दिएपछि विद्यालयहरू दबाबमा परेका छन्।
यस निर्णयले स्वतन्त्र रूपमा पाठ्यपुस्तक छनोट गर्ने अधिकारमा हस्तक्षेप भएको भन्दै कतिपय विद्यालय सञ्चालकहरू असन्तुष्ट देखिएका छन्।
प्याब्सन झापाले फागुन २३ गते सम्पन्न पूर्ण बैठकको निर्णय अनुसार पाठ्यपुस्तक सूची २०८२ निर्माण गरी विद्यालयहरूलाई तोकिएका पब्लिकेशनका पुस्तकहरू मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
पत्रमा अनिवार्य गणित विषयका लागि 'वेलान प्रकाशनु तथा अनिवार्य विज्ञान विषयका लागि 'सङ्गम प्रकाशन, गिनियस प्रकाशन, नोमा प्रकाशन, जैविकस प्रकाशन वा ओसियन प्रकाशनु मध्ये कुनै एक चयन गर्न भनिएको छ।
तर, प्याब्सनको यो निर्णय निष्पक्ष नभएको आशङ्का व्यक्त गरिएको छ। कतिपय विद्यालय सञ्चालकहरूले प्याब्सनले बढी आर्थिक लाभ दिने प्रकाशनहरूलाई मात्रै अनुमोदन गर्ने गरेको आरोप लगाएका छन्।
नाम नबताउने सर्तमा एक पब्लिकेशनका प्रतिनिधिले भने, 'विद्यालयलाई स्वतन्त्र रूपमा पाठ्यपुस्तक छान्न नदिई, प्याब्सनले पैसाको चलखेलका आधारमा प्रकाशनको नाम तोक्छ। यसले गुणस्तरीय शिक्षामा असर परिरहेको छ।'
विद्यालय सञ्चालकहरूले हरेक वर्ष प्याब्सनबाट यसरी अनिवार्य सूची तोकिँदा उनीहरू अन्योलमा पर्ने गरेका छन्।
उनीहरूका अनुसार विद्यालयहरूले विद्यार्थीको आवश्यकताअनुसार पाठ्यपुस्तक छनोट गर्न पाउनुपर्छ।
प्रतिक्रिया