झापामा लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता, हिरासत कक्षमा कारोबारी भरिए

बुधबार, १४ जेठ २०८२
File Photo

झापा : झापामा लागुऔषध कारोबार र दुव्र्यसन नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै जिल्लाका प्रहरी हिरासतहरू लागुऔषध मुद्दाका थुनुवाले भरिन थालेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टा, दमक, अनारमनी र जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी इकाइमा दर्जनौं लागुऔषध कारोबार र प्रयोग अभियोगमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा हाल ४० जना थुनुवा छन्, जसमा ३५ जना लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। चार महिला पनि सो हिरासतमा थुनामा परेका छन्। प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार सीमानाकामा निगरानी बढेपछि लागुऔषध कारोबारीको संख्या बढ्दै गएको हो।

त्यस्तै, इलाका प्रहरी कार्यालय दमकमा एक महिलासहित २३ जना थुनुवामध्ये १४ जना लागुऔषध मुद्दामा छन्। प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा त्यहाँ पनि दिनहुँ लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन्।

अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा पनि पाँच महिलासहित ३० जना थुनुवामध्ये २२ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयमा मात्र दुई महिलासहित ४२ जना थुनुवा छन्, जसमा २२ वटा मुद्दा लागुऔषधसम्बन्धी रहेका छन्। प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हालसम्म ४११ जना लागुऔषध अभियुक्त प्रहरी नियन्त्रणमा छन्, जसमा २४ जना विदेशी नागरिक पनि छन्। २७१ वटा मुद्दा दर्ता भइसकेका छन् भने दुई अभियुक्त अझै फरार छन्।

यस अवधिमा प्रहरीले १६४९ किलो गाँजा, चरेस, ब्राउन सुगर र अन्य लागुऔषध बरामद गरेको जनाएको छ।

सिमसार क्षेत्र लागुऔषध कारोबारीको अखडा

लागुऔषध कारोबारका लागि झापाको सिमसार क्षेत्र प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छ। विशेषगरी मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वन (सिमसार क्षेत्र) लागुऔषध कारोबारीको केन्द्र बन्न थालेको पाइएको छ।

मङ्गलबार मात्र सो क्षेत्रमा प्रहरीले ठूलो स्वीप अपरेसन सञ्चालन गरी ४३ जनालाई पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले अपरेसन सञ्चालन गरेको थियो।

पक्राउ परेका अधिकांश सेवनकर्ता पुरुष हुन् भने उनीहरू लागुऔषध किन्ने उद्देश्यले जमघट भएको प्रहरीले जनाएको छ। तीमध्ये २७ जनालाई पुनःस्थापना केन्द्र पठाइएको छ।

लागुऔषधसहित दुई कारोबारी पक्राउ

प्रहरीले मेचीनगर–११ का १८ वर्षीय शनिल मेचे र मेचीनगर–१२ का २५ वर्षीय अजय मेचेलाई लागुऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट २.८९ ग्राम ब्राउन सुगर, ट्रामाडोल, एन्टिकोफ, स्पास्पिन गरी विभिन्न लागुऔषधका ट्याब्लेट, १८,४०० नगद र एक थान मोबाइल बरामद गरिएको छ।

प्रहरीको अनुसार, उनीहरूका साथबाट १४ थान मोटरसाइकल, एक अटो र एक मारुती भ्यानसमेत नियन्त्रणमा लिइएको छ।

झापा जिल्लालाई लागुऔषधमुक्त क्षेत्र बनाउने उद्देश्यसहित प्रहरीले कडा निगरानी र नियमित अपरेसन चलाइरहेको छ। प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार यस्तो 'एक्सन' अभियानलाई अझ व्यापक बनाउँदै लगिनेछ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार