सिन्धुली : मनसुन सुरु भएसँगै बीपी राजमार्ग प्रयोग गर्ने यात्रु र सवारी चालकको चिन्ता बढेको छ। काभ्रे र सिन्धुली खण्डमा बाढी र पहिरोको जोखिम कायमै रहँदा सडक प्रयोग गर्नै जोखिमपूर्ण बन्दै गएको छ।
गत असोज महिनाको भीषण बाढीले चौकी डाँडा–बर्खे खोला खण्डको करिब १२ किलोमिटर सडकमा क्षति पुर्याएको थियो। अस्थायी सडक निर्माण गरेर एकतर्फी यातायात सञ्चालन गरिएको भए पनि मर्मतपछिको हिलाम्य सडक अझै सवारीका लागि सहज छैन। हालको अवस्था देख्दा यात्रुहरूले यसपालिको पूरै बर्खायाम डर त्रासका बिचमा यात्रा गर्नुपर्ने देखिन्छ।
विशेष गरी काभ्रेको चौकी डाँडामा पहिरोले सडक भत्किएपछि खोला तिरै अस्थायी सडक बनाएर यातायात चलाइएको छ। तर, चिप्लो उकालोमा गाडी पल्टिने घटना पुनः दोहोरिएको छ। मङ्गलवार मात्र काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको पिक अप भ्यान दुर्घटना भएको थियो।
भक्तपुर डिभिजन सडक कार्यालयले चौकी डाँडाको ग्रेड सुधार गर्न प्रयासरत रहेको जनाएको छ। तर, असोजको जस्तो बाढी आए सडक टिक्ने ग्यारेन्टी छैन। यद्यपि आकस्मिक अवस्थाका लागि ४५ वटा उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ।
बीपी राजमार्ग जापान सरकारको सहयोगमा बनेको भए पनि पुनर्निर्माणमा भने नेपाल सरकारले ढिलासुस्ती देखाएको छ। जाइकाले सबै खण्ड नबनाउने भएपछि सडक विभागले आफैँ डीपीआर बनाएको थियो। सिन्धुली खण्डका लागि १ अर्ब र काभ्रे खण्डका लागि साढे ७ अर्ब रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि काम सुरु हुन अझै समय लाग्ने छ।
हालसम्म खानी–कमलजित–एवान जेभीसँग डालाबेसी–चार सय बेसी खण्ड (८.५ किमी) को लागि १ अर्ब ४२ करोडको ठेक्का सम्झौता प्रक्रिया अगाडि बढाइएको छ। अन्य खण्डहरू अझै ठेक्का प्रक्रियामै छन्।
यात्रा कठिन भएको कारण सवारीसाधनको आवागमनमा पनि कमी आएको छ। पहिलेसम्म दिनमा ७ हजार सवारी चल्ने राजमार्गमा हाल ४ हजार मात्र गुडिरहेका छन्। खराब सडकका कारण स्थानीय होटल, रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित भएका छन्।
सिन्धुली खण्डमा केही सुधार प्रयास भए पनि ठुला बाढीले हाल बनाइएका संरचनाहरू धान्न नसक्ने डिभिजन प्रमुखले स्वीकार गरेका छन्। यात्रुहरूले भने सरकारबाट अझै भरपर्दो र दिगो समाधानको अपेक्षा गरेका छन्।
कान्तिपुर दैनिकमा प्रकाशित समाचारको सहयोगमा तयार पारिएको रिपोर्ट:-
प्रतिक्रिया