विद्यार्थी सङ्गठनको बन्धक बन्दै विश्वविद्यालय

शनिबार, २४ जेठ २०८२

काठमाडौँ  : त्रिभुवन विश्वविद्यालयसहित देशका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थी सङ्गठनद्वारा हुने तालाबन्दी, तोडफोड र धम्कीका घटनाले शैक्षिक वातावरणलाई गम्भीर रूपले प्रभावित पारिरहेको छ।

केही दिनअघि त्रिवि उपकुलपति कार्यालयमा विद्यार्थी समूहले तालाबन्दी गर्दै तोडफोड मात्र गरेनन्, पदाधिकारीलाई भौतिक आक्रमणको धम्कीसमेत दिए। त्यसयता उपकुलपति, शिक्षादीक्षा र रजिस्ट्रार कार्यालय जान सकेका छैनन्।

यस्ता घटनाहरू नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस लगायतका संस्थानमा पनि दोहोरिएको पाइन्छ। ती घटनाले तलब भत्ता रोकिएर कर्मचारी घर खर्च चलाउन नसक्नेदेखि बिरामीको उपचार रोकिने जस्ता गम्भीर अवस्था सिर्जना गरेको छ।

शिक्षाविद्हरू र पदाधिकारीहरूले विद्यार्थी सङ्गठनहरूमा देखिएको राजनीतिक प्रभाव र माउ पार्टीको प्रत्यक्ष संरक्षणलाई यस्ता अराजक गतिविधिको मुख्य कारण बताउँछन्। विद्यार्थीको हकहितको नाममा आन्दोलन गर्ने तर भित्री रूपमा व्यक्तिगत वा गुटगत स्वार्थ लिने प्रवृत्तिले समस्या जटिल बनाएको उनीहरूको भनाइ छ।

शिक्षा मन्त्रालय र विश्वविद्यालय प्रशासनले दोषी पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अझैसम्म ठोस कदम नचालिएको जनाइएको छ। यस्ता गतिविधिले स्वदेशी शिक्षाप्रति विद्यार्थीको विश्वास घटाउँदै उनीहरूलाई बिदेसिन बाध्य बनाएको त्रिविका रजिस्ट्रार केदार लरिजाको गुनासो छ।

शैक्षिक संस्थामा हुने तालाबन्दी, तोडफोड र धम्की जस्ता गतिविधिलाई नियन्त्रण गर्न सरकार, विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबिच साझा नीति र जिम्मेवारीको खाँचो देखिएको छ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार