काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको तत्कालिन गृहमन्त्री रमेश लेखकले बताएका छन्।
जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि लेखकले पत्रकार सम्मेलनमार्फत बल प्रयोगसम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पारेका हुन् ।
बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानुनअनुसार तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीहरूको जिम्मेवारी हुने उनले वताए । मन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी व्यवस्था छैन लेखकले स्पष्ट पारे । पूर्वमन्त्री लेखकले उक्त आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोगसमक्ष लिखित रूपमा आफ्नो धारणा र विवरणसमेत प्रस्तुत गरिसकेको जानकारी दिए ।
पूर्वमन्त्री लेखकका अनुसार गत भदौ २३ गते हुने जेनजी समूहको प्रदर्शनबारे सुरक्षा निकाय तथा गृह प्रशासनबाट पूर्वसूचना प्राप्त भएपछि भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको थियो । बैठकमा सुरक्षा निकायहरूले सङ्कलन गरेका सूचनाको विश्लेषण गर्दै प्रदर्शन शान्तिपूर्ण हुने आयोजक पक्षबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको थियो ।
बैठकअघि नेपाल दूरसञ्चार प्राधिकरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी विषयवस्तु बुझ्ने काम गरिएको उनले जानकारी दिए । “कुनै पनि हालतमा मानवीय क्षति नहोस्, भन्ने मेरो स्पष्ट आग्रह थियो,” पूर्वमन्त्री लेखकले भने । प्रदर्शन कुनै राजनीतिक दल वा सङ्गठित संस्थाको आयोजनामा नभएकाले नेतृत्वविहीन हुनसक्ने तथा घूसपैठको सम्भावनाप्रति सुरक्षा निकायलाई सचेत गराइएको थियो ।
बैठकमा अशान्ति वा बल प्रयोगसम्बन्धी कुनै निर्णय वा योजना नबनाइएको स्पष्ट पार्दै उनले सबै सुरक्षा निकायबीच समन्वय गरी शान्तिसुरक्षाको व्यवस्था मिलाउने निष्कर्ष निकालिएको बताए । केन्द्रीय सुरक्षा समितिको बैठकपछि तत्कालीन प्रधानमन्त्रीसँग बालुवाटारमा औपचारिक छलफल गरिएको र त्यहाँ पनि मानवीय क्षति नहोस् भन्ने विषयमा जोड दिइएको पूर्वगृहमन्त्री लेखकले पत्रकार सम्मेलनमा उल्लेख गरे ।
प्रतिक्रिया