ऋण दिने भन्दै नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीले व्यवसायीसँग लिए घुस,अख्तियारले हाल्यो मुद्दा

मंगलबार, २७ जेठ २०८२

काठमाडौं : नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै व्यवसायीसँग घुस लिने गरेको तथ्य बाहिर आएको छ ।

भुसाल हस्पिटालिटीअन्तर्गत र्‍याडिसन प्रोजेक्ट, हिमाल–तराई कन्स्ट्रक्सन प्रालि, अकलादेवी टे«डर्ससँग डा.अधिकारीले ऋण दिलाउन सहजीकरण गरिदिन्छु भनी घुस लिएको पाइएको छ । 

तत्कालीन अध्यक्ष डा.अधिकारीसहित घुस उपलब्ध गराउने व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन फरकफरक मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा तीनवटा कम्पनीबाट डा.अधिकारीले ७४ लाख घुस लिइएको देखिएको छ । 

१ अर्ब ७७ करोड २९ लाख ऋण दिन १९ लाख घुस 

अध्यक्ष अधिकारीले भुसाल हस्पिटालिटीलाई ऋण उपलब्ध गराउन सहजीकरण गरिदिन्छु भनी बालकृष्ण भुसाल, अमृत भुसाल र अंकित भुसालसँग १९ लाख घुस लिएको अनुसन्धानमा देखिएको छ ।

रुपन्देही सिद्धार्थनगर १ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गत र्‍याडिसन प्रोजेक्टले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६६ ऋण लिन नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा कागजात पेस गरी प्रक्रिया अगाडि बढाइएको अनुसन्धानमा देखिएको छ । 

ऋण प्रक्रियाका लागि नेपाल बैंकले कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण र उनका छोरा तथा भुसाल हस्पिटालिटीका सेयर सदस्य अंकितको सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा.अधिकारीसँग पटक–पटक ह्वाट्स एपमार्फत कुराकानी, भेटघाट हुने गरेको पाइएको छ । 

डा.अधिकारीले नेपाल बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्नरगराउन लक्की भन्ने खुसनसिब अन्सारीको मिलेमतोमा २०८१ भदौ ३० गते रकम माग गरेको अनुसन्धानमा देखिएको छ । भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्णबाट प्राइम बैंकको चेक प्राप्त गरी भारतीय नागरिक लक्की खानकहाँ काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाई ७ लाख, शारदा गुप्ताको नाम दर्ता रहेको अनन्या इन्टरप्राइजेस सिटिजन बैंकको खातामा अमृत भुसालको एभरेस्ट बैंकमार्फत रकम ट्रान्सफर गर्न लगाएको देखिएको छ ।

यसरी लक्की खानबाट डा. अधिकारीले १९ लाख प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ । डा.अधिकारी समेतले भुसाल हस्पिटालिटीलाई बैंकबाट ऋण लिन सहजीकरण गराउन १९ लाख घुस हस्पिटालिटीका पदाधिकारी भुसालसँग समेत गरी लिनरदिन मन्जुर भई लिएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यो रकम २०८१ माघ २३ मा डा. अधिकारीको घरको कोठाबाट बरामद भएको थियो । 

६ करोड ऋण दिन ५ लाख घुस

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा.अधिकारीले काठमाडौं ३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सन प्रालिसँग ५ लाख घुस लिएका छन् । डा.अधिकारीले ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनेर ५ लाखको चेक लिइएको अख्तियारको अनुसन्धानमा पाइएको छ । हिमाल–तराई कन्स्ट्रक्सन प्रालि राजमान तामाङको नाम रहेको कम्पनी हो ।

ऋण प्रक्रियाका लागि रमेश आचार्यले कम्पनीका अध्यक्ष तामाङलाई डा.अधिकारीसँग चिनजान र भेटघाट गराइदिएका थिए । अधिकारीले आचार्यलाई प्रयोग गरेर एसएमएस, फोन र ह्वाट्स एपमार्फत तामाङसँग पटक–पटक सम्पर्क गरी ऋण उपलब्ध गराउन सहजीकरण गर्ने र त्यसका लागि १ प्रतिशत घुस माग गरेको अनुसन्धानमा पाइएको छ । 

अधिकारीले आचार्यमार्फत नै हिमाल–तराई कन्स्ट्रक्सन प्रालिको ऋणका लागि धितोको प्रारम्भिक मूल्यांक गराइदिएका थिए । माग गरेको घुस रकममध्ये तत्काल ५ लाख हिमाल–तराई कन्स्ट्रक्सन प्रालिको प्रभु बैंकको रमेश आचार्यको नाममा खिचिएको चेक राजमानले रमेश हुँदै डा.अधिकारीलाई उपलब्ध गराएको देखिएको छ । यो चेक डा.अधिकारीको घरको कोठाबाट २०८१ माघ २३ मा बरामतसमेत गरिएको थियो । यो प्रकरणमा डा. अधिकारी र रमेश आचार्यविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अधिकारीले अकला–देवकी ट्रेडर्ससँग पनि लिए घुस 

डा.अधिकारीले तनहुँको आबुखैरेनी १ मा अकला–देवकी ट्रेडर्सलाई २५ करोड ऋण उपलब्ध गराइदिने भन्दै ५० लाख घुस लिइएको पाइएको छ । अख्तियारका अनुसार डा.अधिकारीले सन्तोष सुवेदीमार्फत दानबहादुर कार्की, नारायणप्रसाद बराल र सुन्दरबहादुर बानियाँसँग २५ करोडको दुई प्रतिशत घुस माग गरी लिनरदिन सहमत भएका थिए । 

अनुसन्धानमा दुवै पक्ष सहमत भएपछि २०८१ भदौ १६ मा सन्तोषको नामको एनआइसी एसिया बैंकको खातबाट ७ लाख जम्मा भएको देखिएको छ । यो रकम जम्मा भएको भोलिपल्ट नै त्यो ७ लाख मध्येबाट ५ लाख अविनाश श्रेष्ठको नबिल बैंकको खातामा जम्मा गरिएको थियो ।  यो ५ लाख रकम तत्कालै अविनाशले आफ्नो खाताबाट डा.अधिकारीकी श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएको पाइएका छ ।

२०८१ भदौ १७ गते १ लाख, १८ गते २ लाख, १९ गते बाँकी २ लाख मुधमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकको अर्को खातामा स्थानान्तरण गरेको देखिएको छ । मधुमायाको खाताबाट २०८१ भदौ ३० गते ९ लाख ९० हजार लक्की खानले निकालको देखिएको छ । 

त्यो रकम डा.अधिकारीले नेपाल बैंकको खातामा २०८१ असोज ८ मा २ लाख, २०८१ असोज १० मा ४ लाख गरी ६ लाख प्राप्त गरेको देखिएको छ । ५ लाख ट्रान्सफर गर्न लगाएको देखिएको छ । केही समयपछि नारायणप्रसाद बरालले ३० लाख र १५ लाख को चेक काटी सुन्दरबहादुर बानियाँसँग ललितपुरको झम्सीखेल गई सन्तोष सुवेदीलाई दिएको अनुसन्धानमा देखिएको छ ।

सन्तोष सुवेदीले ती चेक अविनाश श्रेष्ठ हँुदै डा.अधिकारीलाई सवारीचालकमार्फ दिइएको पाइएको छ । ती चेक भारतीय नागरिक लक्की खानलाई दिएपछि खानले नै सुमित्राकुमार घिमिरे र अञ्जन दाहाललाई दिई सटहीका लागि पेस गरेको अनुसन्धानमा पाइएको छ । 

यसरी डा.अधिकारीले सन्तोष सुवेदीमार्फत माग गरी घुस लिन मन्जुर गराई ५० लाखमध्ये ५ लाख बैंकमार्फत ट्रान्सफर गराई लिइएको पाइएको छ भने बाँकी ४५ लाखको चेक नारायणप्रसाद बरालको नबिल बैंकको खाताबाट उपलब्ध गराइएको पाइएको छ ।

यो प्रकरणमा अधिकारीसहित लक्की खान, सन्तोष सुवेदी, नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँविरुद्ध अख्तियारले मुद्दा हालेको छ । तीनैवटा फरकफरक मुद्दामा डा.अधिकारीसहित १० जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको छ ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार