यी हुन् उद्योग वाणिज्य सङ्घ इटहरीको चुनावमा नजिते पनि व्यवसायमा चम्किएकाहरू

मंगलबार, ०३ असार २०८२

इटहरी : नेतृत्व भनेको सधैँ पदमै सीमित हुँदैन। केहीले जितेर नेतृत्व गर्छन्, केहीले हारेर पनि उज्यालो छर्छन्। उद्योग वाणिज्य सङ्घ इटहरीको तीन दशक लामो इतिहासले त्यसलाई पुष्टि गर्छ । चुनाव हारेका अनुहारहरूले पनि समाज, व्यवसाय र संस्थालाई उत्तिकै मजबुत बनाएका छन्।

सन् २०५० सालमा चन्द्रबहादुर बस्नेतको अध्यक्षताबाट औपचारिक रूपमा स्थापना भएको उद्योग वाणिज्य सङ्घ इटहरी, व्यापारिक चेतनाको प्रतिनिधि संस्था बनेको छ। सङ्घको नेतृत्व बदलिँदै गयो । तर, चुनावी प्रतिस्पर्धामा पछि परेकाहरू पनि व्यावसायिक र सामाजिक हिसाबले चम्किएका छन् । 

सङ्घको इतिहास हेर्दा नेतृत्वमा पुगेका व्यक्तिहरू मात्रै होइन, नेतृत्वको दौडमा चुकेकाहरू पनि उत्तिकै अब्बल छन् । सङ्घको पृष्ठभूमिमा व्यावसायिक र सामाजिक क्षेत्रमै मजबुत उपस्थिति बनाउने अनुहारहरूको भूमिकाले पनि यो संस्थाको गरिमा बढेको छ । 

२०५० सालदेखि चन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको सङ्घको औपचारिक यात्रा त्यसअघि व्यापार प्रबन्ध समितिको नामबाट परिचित थियो । संरचनागत परिवर्तनसँगै व्यापार प्रबन्ध समितिबाट इटहरी उद्योग वाणिज्य सङ्घ बनेको यो संस्था अहिले यस क्षेत्रको व्यापारिक प्रतिनिधित्व गर्ने प्रतिष्ठित संस्था बनेको छ । 

बस्नेत नेतृत्वको कार्यसमिति झन्डै ६ वर्षसम्म चलेको थियो। त्यसयता सङ्घको इतिहासमा आधा दर्जनभन्दा बढी अध्यक्षहरूले नेतृत्व सम्हाले । तर, समानान्तर रूपमा त्यस्ता व्यक्तित्वहरू पनि रहे, जो चुनावमा हारेर भएपनि आजसम्म समाजमा उत्तिकै सशक्त प्रभाव राख्न सफल भएका छन्।

द्वारिका रिजाल – हार भएपनि स्मरणीय

२०५७ सालको निर्वाचनमा कृष्ण खनाल विजयी भए। तर, उनका प्रतिस्पर्धी द्वारिका रिजाल चुनाव हारेर पनि इटहरीको सामाजिक र व्यावसायिक वृत्तमा आजसम्म सशक्त रूपमा टिकिरहेका छन्। 

पराजयले उनलाई रोक्न सकेन । समाजसेवाको मूलधारमा उनले आफूलाई मजबुत बनाउँदै लगे। व्यावसायिक सक्रियतासँगै रिजालले इटहरीको सामाजिक वृत्तमा स्मरणीय योगदान दिइरहेका छन् । 

शिव घिमिरे – चुनावमा असफल, व्यवसायमा सफल

२०६० सालमा अध्यक्ष पदमा तीर्थ गौतमसँग पराजित भए पनि शिव घिमिरे अहिले दर्जनौँ सङ्घसंस्थामा नेतृत्वदायी भूमिका सम्हालिरहेका छन्। पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष, पाँच दर्जनभन्दा बढी व्यवसायका सञ्चालक र उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका उनी अबको महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छन्। 

अध्यक्षमा पराजित भएका घिमिरे उपाध्यक्ष पदमा निर्वाचित हुँदै भवन निर्माण समितिाके संयोजक बनेका थिए । इटहरीलाई आफ्नो मुख्य कार्यथलो बनाउँदै लामो समयदेखि सक्रिय रूपमा व्यवसाय गर्दै आएका घिमिरे नेतृत्वको प्रतिस्पर्धामा पछि परे पनि व्यावसायिक उचाइमा भने सधैँ अब्बल रहे।

समय क्रमसँगै व्यवसायलाई थप सुदृढ बनाउँदै पाइला अगाडि बढाएका उनले काठमाडौँमा समेत आफूलाई स्थापित गर्दै सफल व्यवसायीको पहिचान बनाएका छन् । हारले होइन, हौसला र निरन्तर प्रयासले सफलता सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन्, घिमिरे । ‘हार अन्त्य हैन, भविष्यको तयारी हो’ भन्ने उनले स्थापित गरेका छन् । 

उदाहरणीय रामप्रसाद चौलागाईं 

इटहरी उद्योग वाणिज्य सङ्घमा २०६३ सालमा उम्मेदवारी फिर्ता लिँदा टङ्क दुलाल निर्विरोध अध्यक्ष भए । तर, रामप्रसाद चौलागाईं त्यसपछि इटहरी खानेपानी उपभोक्ता संस्थामा एक दशक नेतृत्व गर्दै सामाजिक दायित्वमा उदाहरणीय पात्र बने । 

नेकपा (एमाले)मा सक्रिय उनको राजनीतिक यात्रा जारी छ। खानेपानीका निवर्तमान अध्यक्ष चौलागाईं अहिले राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहेका छन्।

उमेश पौडेल – हारपछिको अब्बल व्यावसायिक उचाइ

WhatsApp Image 2025-06-16 at 22.23.50२०६९ सालको अध्यक्ष पदको प्रतिस्पर्धामा रोहित प्रसाईँसँग पराजित उमेश पौडेल जुत्ता–चप्पल व्यवसायमै सशक्त बनेर अघि बढे । एमाले राजनीति र सामाजिक वृत्तमा पनि उनको चिनारी प्रस्ट छ। 

प्रसाईँ २०६६ /२०६९ साल गरेर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाले। दोस्रो कार्यकालको चुनावमा उनीसँग पौडेल पराजित भएका हुन् । सामाजिक र राजनीतिक वृत्तमा परिचित पौडेलले व्यावसायिक सफलता हात पारिरहेका छन् । 

ईश्वरी पराजुली – सफलताको अर्को नाम

२०७२ मा लिलम बस्नेतसँग अध्यक्ष पदमा पराजित ईश्वर पराजुलीले इटहरीमै इनटुरिष्ट होटल तथा अटो व्यवसाय सञ्चालन गर्दै आएका छन् । पराजुली सफलताको अर्को परिचय बनिरहेका छन्।

बस्नेत  कोशी प्रदेशसभाको निवर्तमान सदस्य (प्रदेश सांसद) समेत हुन । पराजुली व्यावसायिक जीवनमा उच्च सफलता हात पार्ने व्यवसायीमा पर्छन् । त्यसका अतिरिक्त पराजुली इटहरीमा रहेका विभिन्न सङ्घ संस्थाको नेतृत्वमा समेत रहेका छन ।

शैलेश विष्ट – सिङ्गो युगको अनुभव र सशक्त नेतृत्व

२०७५ सालमा भीमबहादुर पौडेलसँग प्रतिस्पर्धामा पराजित भएका शैलेश विष्टले उद्योग वाणिज्य सङ्घ इटहरीमा १२ वर्ष लामो सङ्गठनात्मक यात्रा पूरा गरेका छन् ।  दुई वर्षभन्दा बढी कार्यवाहक अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘निर्वाचनको हारले मलाई अझ धेरै सिकायो।’ 

ग्लास हाउस व्यवसायमा केन्द्रित विष्ट सामाजिक र खेलकुद क्षेत्रमा पनि नेतृत्वदायी छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य र टाइक्वान्दो सङ्घ कोशीको अध्यक्षका रूपमा उनी अझै व्यस्त छन्। विष्ट अहिले ग्लास हाउस सञ्चालन गर्दै इटहरीमा सफल व्यवसायीको रूपमा परिचित छन्। 

व्यावसायिक हिसाबले उनी अझै मजबुत बन्दै गएका छन्। सङ्घका तत्कालीन अध्यक्ष लिलम बस्नेतको कार्यकालमा दुई वर्षभन्दा बढी कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका विष्ट भीम पौडेलसँग केही मतान्तरले पराजित भए।

पराजयलाई पनि अवसरका रूपमा लिएको विष्ट बताउँछन् । भन्छन्, ‘निर्वाचनमा हार भएपनि व्यवस्थापन र नेतृत्वका अनुभवबाट अझ धेरै सिक्ने अवसर मिल्यो ।’ विगत १२ वर्ष सङ्घको जिम्मेवारीमा केन्द्रित रहँदा आफ्नो निजी व्यवसायलाई पर्याप्त समय दिन नपाएको उनले स्वीकार गरे। तर, अहिले त्यो समय व्यवसाय सुदृढीकरणमा लगाएको उनले बताए।

गायत्री भण्डारी – पराजयलाई जितमा बदल्ने अठोट

२०७९ सालको निर्वाचनमा जीवन पराजुलीसँग प्रतिस्पर्धा गरेकी गायत्री कटुवाल भण्डारीले पराजयलाई कहिल्यै अन्त्य मानिनन् । सङ्घको कोषाध्यक्ष भइसकेकी उनी भन्छिन्, ‘महिलाले पनि संस्थालाई सशक्त बनाउन सक्छन् । म फेरि अध्यक्षको बलियो दाबी गर्दैछु।’ ३५ वर्षदेखि इटहरीको व्यापारमा सक्रिय रहेकी भण्डारीको आत्मबल अझै उच्च छ।

पराजुलीका प्रतिस्पर्धीहरू भण्डारीसहित मणिन्द्र कटुवाल, र रञ्जु सिग्देलसमेतले चुनावमा हार भएपनि आज इटहरीको सामाजिक गतिविधि, व्यावसायिक उपस्थिति र महिलाको नेतृत्व विकासमा उल्लेखनीय योगदान दिइरहेका छन्। जीवन पराजुलीसँगको प्रतिस्पर्धामा पराजित भएपछि पनि गायत्री भण्डारी विचलित भइनन्। कोषाध्यक्ष हुँदै सङ्घको नेतृत्वमा उक्लिने यात्रामा उनले पराजयलाई कहिल्यै अन्तिम ठानिनन्। 

‘महिलाले पनि नेतृत्वदायी भूमिका निर्वाह गरेर संस्थालाई अझ सशक्त बनाउन सक्छन् भन्ने प्रमाण प्रस्तुत गर्न चाहन्छु,’ भण्डारी भन्छिन्। झन्डै ३५ वर्षदेखि इटहरीको व्यापार क्षेत्रमा सक्रिय रहेकी भण्डारीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा पराजित भए पनि आत्मबल गुमाएकी छैनन्। उनी दृढताका साथ भन्छिन्, ‘त्यो हार मेरो लागि झनै साहस र अठोटको आधार बन्यो।’

पहिलो पटक अध्यक्ष पदमा असफल प्रयास गरेकी भण्डारी आगामी कार्यकालमा भने विजय हासिल गरेर देखाउने अठोट व्यक्त गर्छिन्। ‘म फेरि अध्यक्ष पदको बलियो दाबी गर्दैछु,’ उनी भन्छिन्, ‘त्यो हारले मलाई अघि बढ्ने प्रेरणा मात्रै दिएको छ, रोक्ने होइन।’ 

भण्डारीको यो दृढता र आत्मविश्वासले इटहरीमा महिला नेतृत्वको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। अबको नेतृत्व प्रतिस्पर्धामा उनले पुनः आफ्नो सशक्त उपस्थितिको घोषणा गरेकी छन्।

रञ्जु सिग्देल – हारपछि नयाँ अध्याय

त्यही निर्वाचनमा अध्यक्ष पदमा पराजित रञ्जु सिग्देल अहिले नेपाल उद्यमशील महिला सङ्घ, सुनसरीकी अध्यक्ष मात्र होइन, नेपाल उद्यमी व्यवसायी महासङ्घकी केन्द्रीय सदस्यसमेत हुन् । नेकपा (एमाले) निकट व्यावसायिक सङ्गठनमा उनी आज पनि नेतृत्वदायी भूमिकामा छिन्। उनी भन्छिन्, ‘त्यो हार जीवनको नयाँ अध्यायको सुरुवात बन्यो।’

सिग्देलले त्यो हारलाई जीवनको प्रेरणाका रूपमा लिएको बताएकी छन्। ‘अध्यक्ष पदमा पराजित भए पनि त्यो क्षण मेरो जीवनको नयाँ अध्यायको सुरुवात बन्यो,’ सिग्देलले भनिन्, ‘हारले मलाई आत्ममूल्यांकन गर्न र अझ बलियो भएर अगाडि बढ्न उत्प्रेरणा मिलेको छ ।’ 

सिग्देलले आउँदो उद्योग वाणिज्य सङ्घको निर्वाचनमा पार्टीबाट योग्य र दूरदर्शी व्यक्तिलाई अघि सारिने अपेक्षा राखेकी छन्। ‘हार केही मतको अन्तरले मात्र हुने हो । तर, त्यो हारले मेरो व्यावसायिक यात्रालाई अझ मजबुत बनाउने बाटो खोलिदियो,’ उनले स्पष्ट गरिन्।

मणिन्द्र कटुवाल – होटल व्यवसायमा सक्रिय 

 

उक्त चुनावमा पराजित अर्का उम्मेदवार मणिन्द्र कटुवाल झन्डै तीन दशकदेखि होटल व्यवसायमा सक्रिय छन्। इटहरीको ‘कटुवाल होटल’ ब्रान्ड बनाइसकेका उनी होटल व्यवसायी सङ्घ इटहरीका पूर्वअध्यक्ष र महासङ्घका केन्द्रीय सदस्य र पदाधिकारीसमेत बनिसकेका छन्।

इटहरीमा कटुवाल होटल एक सशक्त ब्रान्डका रूपमा स्थापित छ । मणिन्द्र कटुवाल होटल व्यवसायी सङ्घ इटहरीको अध्यक्ष भइसकेका छन्।

सङ्घको नेतृत्वमा पुग्ने प्रयास असफल रहे पनि व्यावसायिक यात्रामा भने उनी कहिल्यै पछि परेनन्। व्यवसायलाई निरन्तर विस्तार र सुदृढीकरण गर्दै आएका कटुवाल हाल पनि होटल तथा सेवा क्षेत्रका अनुकरणीय उद्यमीका रूपमा चिनिन्छन्।

यसो भन्छन् टङ्क दुलाल 

उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्वअध्यक्ष टङ्क दुलालले प्राविधिक कारणले अध्यक्षमा पराजित भएकाहरुको निरन्तर लगनशीलता, समर्पण र सक्रियताकै कारण संस्थाले आजको उचाइ हासिल गर्न सफल भएको बताए ।

‘हामीले देख्ने नेतृत्वभन्दा पर, देखिने अनुहारहरूको योगदान अझ गहिरो छ। पराजित भए पनि उनीहरूकै समर्पणले संस्था आज यहाँ आइपुगेको हो,’ उनले भने । 

दुलालले संस्थाको समग्र विकासमा सबै तहका सदस्यहरूको भूमिकालाई सम्मानपूर्वक स्मरण गर्दै त्यसलाई सङ्घीय नेतृत्वको उदाहरणीय आधारको रूपमा समेत उल्लेख गरेका छन्।

जीवन पराजुली – समर्पण र योगदान अत्यन्तै महत्त्वपूर्ण 

सङ्घका वर्तमान अध्यक्ष जीवन पराजुली भन्छन्, ‘प्रतिस्पर्धा गरेका सबैले पद पाउन सकेनन् । पाउने कुरा पनि भएन । तर, सल्लाह, अनुभव र सक्रियताले उहाँहरू संस्थाको मेरुदण्ड बन्नु भयो ।

उहाँहरूको सल्लाह र आत्मीयताले हामी अझ मजबुत भइरहेका छौँ ।’ 

सङ्घको वर्तमान उचाइमा पूर्वपदाधिकारीहरूको समर्पण र योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

उनका अनुसार प्राविधिक कारणले अध्यक्ष पदमा पुग्न नसकेका अनुभवी अनुहारहरूको सक्रियता र लगावकै कारण सङ्घले अहिलेको सफलता हासिल गर्न सकेको हो। ‘उहाँहरू अहिले पनि सङ्घमा आएर औपचारिक तथा अनौपचारिक रूपमा सल्लाह तथा सहयोग गरिरहनुहुन्छ । जसले वर्तमान कार्यसमितिका सदस्यहरूलाई काम गर्ने थप ऊर्जा र प्रेरणा मिलेको छ,’ अध्यक्ष पराजुलीले भने।

अध्यक्ष पदको प्रतिस्पर्धामा पछि परे पनि ती व्यक्तिहरूको व्यावसायिक यात्रा र अनुभव सङ्घको विकासमा अमूल्य रहेको उनले उल्लेख गरे। ‘उहाँहरूको दीर्घ अनुभव र निरन्तर सहयोगले सङ्घ अझ सुदृढ हुँदै गएको छ,’ पराजुली भन्छन् । 

इटहरी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा पुग्नु सम्मान र अवसर हो। तर, त्यसका प्रतिस्पर्धीहरूले देखाएको निरन्तरता, समर्पण र समाजप्रतिको जिम्मेवारीले यस संस्था मात्र होइन, इटहरीको सामाजिक जीवनलाई समेत समृद्ध बनाएको छ।

सरोकारवालाहरू जित्नेहरूले अध्यक्षताको इतिहास लेखे पनि हार्नेहरूले व्यावसायिक र सामाजिक योगदानको इतिहास रचेको बताउँछन् । उनीहरूको निरन्तरता नै आजको इटहरी उद्योग वाणिज्य सङ्घको गहिरो आत्मा भएको उनीहरूको भनाइ छ । 

 इतिहासमा विजय हासिल गर्नेहरूले अध्यक्षको कुर्सी सम्हाले पनि चुनाव हारेका अनुहारहरूले इटहरीको व्यापार, समाज र नेतृत्वमा गहिरो छाप छाडेका छन्। सबै जनाको निरन्तरता, प्रतिबद्धता र साहसले इटहरी उद्योग वाणिज्य सङ्घलाई एक ऊर्जाशील र सबल संस्थाको रूपमा उभ्याएको उद्योगी व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार