काठमाडौँ : भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका युवकलाई त्यहाँको उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
मे २० मा एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिइएपछि प्रकृति शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त भारतीय नागरिक सोही विश्वविद्यालयमा अध्ययनरत छात्र अद्विक श्रीवास्तव रिहा भइसकेका छन्।
अदालतले श्रीवास्तवलाई धरौटीमा रिहा गर्न दिएको आदेशप्रति आफ्नो चित्त नबुझेको प्रकृतिका बुवा सुनिल लम्सालले बताए। ‘आत्महत्या दुरुत्साहनलगायतका आठवटा आरोप लागेका अद्विक श्रीवास्तवलाई उच्च अदालतले छाडेको हामीले थाहा पायौं।
अदालतको आदेश हामी सम्मान गर्छौं तर हामीलाई यो आदेश चित्त बुझेको छैन। माथिल्लो तहमा जाने बाटो पनि छ,’ उनले भने। श्रीवास्तवलाई अदालतले रिहा गरेपछि प्रकृतिका बुबा सुनिलले न्यायका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
गत फागुन ४ गते किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए। अभियुक्त रिहा भएको थाहा पाएलगत्तै प्रकृतिका बुबा सुनिलले परराष्ट्रमन्त्री डा.आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएका थिए।
उनले थप प्रमाणका आधारमा हदैसम्म्को सजायको माग गदै परराष्ट्र मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। उक्त विषयमा मन्त्रालयले कुनै कदम अघि बढाएको वा नबढाएको भनेर लम्साललाई कुनै जानकारी गराइएको छैन।
‘प्रकति लम्साल जैविक रूपमा मेरी छोरी भए पनि भारतको चर्चित कलेजमा अध्ययनका लागि पठाइएकी नेपालकी छोरी हुन्। ठुलो सपना बोकेर उच्च शिक्षा हासिल गर्न केआइआइटी गएकी मेरी छोरीलाई मृत्युको मुखमा धकेल्ने आततायी समूहमाथि कानुनबमोजिम आवश्यक अनुसन्धान गरी प्राप्त प्रमाणका आधारमा हदैसम्मको सजायको माग होस भन्ने कुराको माग गर्दै माननीय मन्त्रीज्यूसमेतको गम्भीर ध्यानाकर्षण गराउन चहन्छु,’ परराष्ट्र मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।
उनले मंगलबार मात्रै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष पनि न्यायका लागि अपिल गरेका छन्। लम्सालले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको अपिलमा पनि थप प्रमाणका आधारमा आरोपीलाई सजाय होस् भन्ने माग गरेका छन्।
प्रकृतिका पिता सुनिलले ‘ह्यारेसमेन्ट’ र ‘इमोसनल ब्ल्याकमेलिङ’का कारण छोरीले आत्महत्या गरेको बताउँदै आएका छन्। यही कारण खुलाएर उनले प्रहरीलाई किटानी जाहेरीसमेत दिएका थिए।
सोही आधारमा ओडिसाको भुवनेश्वर प्रहरीले आरोपीलाई भाग्न लागेको अवस्थामा विमानस्थलबाटै पक्राउ गरेर अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धानपछि उनलाई अदालतमा पठाइएको थियो। अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्।
भारतमा तीन महिनाको अवधिमा दुई नेपाली छात्राको मृत्यु भएको थियो। भुवनेश्वरको केआइआइटीमै १९ वर्षीया प्रिसा साहले पनि आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। प्रिसाको आत्महत्याबारे भुवनेश्वर प्रहरीले एक युवकसहित चार युवतीलाई अनुसन्धान गरिरहेको छ।
यद्यपि युवक भने अहिले फरार रहेको भुवनेश्वर प्रहरीले जनाएको छ। किट विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृतिको मृत्युको तीन महिनापछि वैशाख १८ गते सर्लाही स्थायी घर भई पर्सा बस्दै आएकी प्रिसा साह विश्वविद्यालयको क्युसी ०४ होस्टेलको कोठामा मृत भेटिएकी थिइन्।
किट विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा भारतीयपछि नेपाली धेरै छन्। त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार किटमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्। किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह र प्रकृति लम्सालको शंकास्पद मृत्यु हुँदा पनि नेपाल सरकारले भने अझसम्म बलियो उपस्थिति देखाउन नसकेको उनीहरूका परिवारको गुनासो छ।
प्रकृतिको मृत्यु भएको बेला नेपालस्थित भारतीय दूतावासबाट नेपाल प्रहरीका काउन्सेलरसहितको टोली गएर १० दिन बसे पनि उनीहरूले नेपाली विद्यार्थीलाई नेपाल सरकार रहेको अनुभूति दिलाउन सकेका थिएनन्। प्रिसाको मृत्युमा त नेपाल सरकारका प्रतिनिधिले ओडिसा पनि नपुगी नयाँ दिल्लीबाटै काम चलाइरहेका छन्।
प्रिसाको मृत्यु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि भारतस्थित नेपाली दूतावासबाट नेपाली विद्यार्थीको अवस्थाबारे विश्वविद्यालय प्रशासनसँग बुझ्नेबाहेक केही काम भएको छैन। ओडिसास्थित सो विश्वविद्यालयमा अध्ययन गर्ने एक जना विद्यार्थीसँग पनि छलफल गर्ने र उनीहरूका समस्याबारे जानकारी लिने काम दूतावासले नगरेको अध्ययनरत नेपाली विद्यार्थी बताउँछन्।
तीन महिनाको अन्तरमा दुई शंकास्पद मृत्युले नेपाली विद्यार्थी तनावमा छन्। पुलिस कमिस्नरको कार्यालय भुवनेश्वरले भने नेपालीसहित विदेशी विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रयत्न गरिरहेको छ।
कमिस्नर सुरेशदेव दत्तको पहलमा किटमा अध्ययनरत नेपालीसहित विदेशी विद्यार्थी (छात्रा) हरूलाई काउन्सेलिङ कार्यक्रम गरेर सुरक्षाको अनुभूति दिलाउने प्रयास गरिरहेको छ।
छिमेकी देश भएकाले र तुलनात्मक रूपमा अन्य मुलुकहरूमा भन्दा शैक्षिक शुल्क पनि कम लाग्ने हुनाले नेपाली विद्यार्थीका लागि भारतका विश्वविद्यालय आकर्षक गन्तव्य बनेका छन्। किट विश्वविद्यालयका विभिन्न संकायमा मात्रै करिब एक हजार तीन सय नेपाली विद्यार्थी अध्ययनरत छन्।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया