विराटनगरका कुख्यात ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी, पुनः धम्की र ठगीको आरोप

विहीबार, ०५ असार २०८२

विराटनगर : मोरङमा ‘मिटरब्याज’को कुख्यात नाम बनेका सञ्जयप्रसाद रौनियार (मन्टु) विरुद्ध फेरि सामूहिक उजुरी परेको छ। जेल जीवन सकेर बाहिरिएका मन्टुले पुनः पुरानै शैलीमा सर्वसाधारणलाई धम्की र त्रास देखाएर ठगी गरिरहेको आरोप लागेपछि १२ जना पीडितले जिल्ला प्रशासन कार्यालय, मोरङमा संयुक्त उजुरी दिएका हुन् ।

पीडितहरूका अनुसार मन्टुले जग्गा फिर्ता गरिसकेपछि समेत त्यसको मूल्य माग्दै हुलाकमार्फत धम्कीपूर्ण पत्र पठाइरहेका छन् । सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवका अनुसार,“भनेजति पैसा नदिए कानुनी कारबाही गर्छु भन्दै हुलाकमार्फत धम्की आउँछ। यसले हामीलाई फेरि त्रासमा पारेको छ।”

२०७७ मा ठगी र आपराधिक लाभ मुद्दामा पक्राउ परेका मन्टु १६ महिना जेल बसेपछि २०७९ जेठ ९ मा मोरङ जिल्ला अदालतबाट सफाइ पाएका थिए । त्यतिबेला उनले १७ जना पीडितसँग सहमति गर्दै जग्गा फिर्ता गरेका थिए। अदालतको आदेशपछि उनी कारागारमुक्त भएका थिए।

तर, सफाइ पाएर छुटेको दुई वर्षपछि पुनः ११ जनालाई जग्गाको मूल्य दिनुपर्ने भन्दै पत्र पठाएपछि विवाद चुलिएको हो । पीडितहरू भन्छन्,“हामीले पहिले नै सावाँ र ब्याजसहित बढी रकम तिरेर आफ्नो सम्पत्ति फिर्ता लिएका हौं । अहिले फेरि पैसा माग्नु ठगी र त्रास सिर्जना गर्नु हो।”

save ttt

जिल्ला प्रशासन कार्यालय मोरङले उजुरीपछि जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरी मन्टुलाई छलफलका लागि उपस्थित गराउन भनेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, “दुवै पक्षलाई छलफलमा बोलाएका छौं। सत्यतथ्य बुझेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछौं।”

यसअघि २०७७ मा मोरङ प्रहरीले मन्टुविरुद्ध ठगी र आपराधिक लाभ सम्बन्धी मुद्दा दायर गर्दा १ करोड ९२ लाख बढीको बिगो दाबी गर्दै ७ वर्षको कैद सजाय माग गरिएको थियो। यद्यपि सहमतिका आधारमा उनी सफाइ पाएर छुटेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार