विराटनगर : झापाको काँकडभिट्टाबाट एक भारतीय नागरिकलाई हतियारसहित प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गुप्त सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट भारतको सिलिगुडी निवासी ३५ वर्षीय जयप्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पाठक साँझ ७:२० बजेतिर डब्लुबी ७० जी ३२३२ नम्बरको कारमा सवार थिए। खानतलासीका क्रममा कारको सिटमुनी लुकाएर राखिएको म्याग्जिनसहितको एयर पेस्तोल बरामद गरिएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।
पेस्तोल खोलेर हेर्दा त्यसमा ५ राउण्ड गोली रहेको पाइएको छ भने कारको सिटमुनीबाट दुईवटा दापसहितको खुकुरी समेत फेला परेको छ। साथै, पाठकको साथबाट बरामद मोबाइल फोन र अन्य कागजातहरू समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
के प्रयोजनका लागि हतियारसहित नेपाल आएको हो भन्ने विषयमा यकिन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया