बिपी प्रतिष्ठान बचाउन धरानबाट सर्वदलीय टोली काठमाडौंमा

बुधबार, ११ असार २०८२

धरान : धरानको गौरव र पहिचान मानिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वायत्तता जोगाउन सर्वदलीय टोली काठमाडौंमा प्रस्थान गरेको छ।

प्रतिष्ठानलाई प्रस्तावित ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ अन्तर्गत ल्याउने सरकारी प्रयासको विरोधमा सर्वदलीय प्रतिनिधिहरू प्रधानमन्त्री, स्वास्थ्य मन्त्री तथा प्रमुख दलका नेताहरूसँग भेट गर्न काठमाडौं गएका हुन्।

प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल, एमाले अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बु, जसपाका केन्द्रीय सदस्य ताजुब लिम्बु र मनोज भट्टराई सहभागी छन्।

कांग्रेस सभापति पोखरेलले बिपीलाई छाता ऐनभित्र नराख्न माग गर्दै भने,

बिपी प्रतिष्ठान धरानको आत्मा हो, यसको अस्तित्व धरानवासीको आत्मसम्मानसँग जोडिएको छ।

सरकारले संसदमा पेश गरेको नयाँ मस्यौदामा बिपीसहित देशका ६ वटा प्रतिष्ठानलाई एउटै ऐनअन्तर्गत ल्याउने प्रस्ताव छ। यदि यो ऐन पास भयो भने बिपी प्रतिष्ठानको छुट्टै ऐन खारेज हुनेछ, जुन यसको ऐतिहासिक स्वायत्तताको अन्त्य मानिएको छ।

प्रतिनिधिहरूको तर्क छ — छाता ऐनभित्र परेपछि बिपीको निर्णय क्षमता काठमाडौं केन्द्रित हुनेछ, रेक्टर, उपकुलपति, डिन जस्ता प्रमुख पद समाप्त हुनेछन्। शैक्षिक, प्रशासनिक र सेवा अधिकारहरू सीमित भई प्रतिष्ठानको मूल आत्मा हराउनेछ।

प्रतिनिधि मण्डलको यात्रा धरानवासीको भावना बोकेको छ। बिपीमाथिको सरकारको कदमलाई धरानले केवल ऐनको विषय होइन, पहिचान र भविष्यको प्रश्नको रूपमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार