विराटनगर : मोरङ प्रहरीले अपहरण र डकैतीमा संलग्न भएको आरोपमा विराटनगरबाट पक्राउ परेका २ जनामाथि अनुसन्धान सुरु गरेको छ ।
५ दिनअघिको अपहरण र डकैतीमा संलग्न आइतबार पक्राउ परेका थिए । आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान अपहरणपछि डकैती गरेको हो । डकैतीमा संलग्न गिरोहका २ जना विराटनगर महानगरपालिका ८ का अन्दाजी २४ वर्षीय समीर हुसेन र विराटनगर ६ का २६ वर्षीय आशिव अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
आफूलाई प्रहरी बताउने ३ जनाको समूहले असार ११ गते बिहान ११ः१५ बजेतिर विराटनगर १५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर १३ को महतो टोलबाट अपहरण गरेको मोरङ प्रहरीको भनाई छ ।
मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर १४ जतुवा पुर्याएर उनीसँग भएको रकम लुटेको डीएस्पी चुँडालले बताइन् । प्रहरीका अनुसार भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर विक्रम बैंकमा जम्मा गर्न जाँदै थिए । अपहरण गरेर रकम लुटपाट गरेपछि उनलाई छाडियो ।
धर्मानन्दले विक्रम आफ्नो सालो भएको बताएका छन् । उनका अनुसार ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर लगेका थिए । त्यसपछि एकान्तस्थलमा पुर्याएर लुटपाट गरेको धर्मानन्द बताउँछन् । हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेर विक्रमलाई छाडिदिएको उनी बताउँछन् । प्रहरीले पनि यसलाई पुष्टि गरेको छ ।
अपहरणमा प्रयोग गरिएको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको चुँडालले बताईन् । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेर कसुरमा मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।
घटनामा ३ जना संलग्न रहेको प्रहरीको भनाइ छ । २ जना पक्राउ परे पनि १ जना फरार रहेका छन् ।
यो पनि
प्रतिक्रिया