काठमाडौं : नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवाबाट देशले ठूलो अपेक्षा राखेको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले देउवा नेतृत्वमा कांग्रेसमात्र होइन, देश नै अगाडि बढ्न सक्ने विश्वास जनाएका हुन्।
कार्कीले अहिले कांग्रेस चौतर्फी आक्रमणको घेरामा परेको उल्लेख गर्दै पार्टीभित्रका केही आन्तरिक समस्या नै चुनौतीको रूपमा देखिएको बताए। उनले भने, "हामी आफैभित्रका कमजोरी हटाएर एकढिक्का भएर अघि बढ्नुपर्ने समय आएको छ।"
उनले देशभरि कांग्रेसप्रतिको जनविश्वास कायम रहेको जनाउँदै कांग्रेसमाथि हुने आक्रमणहरूलाई सुनियोजित भने। "जिल्ला–जिल्लामा जाँदा र सर्वसाधारणसँग संवाद गर्दा अझै पनि कांग्रेसप्रतिको भरोसा बलियो छ," कार्कीको भनाइ थियो।
महाधिवेशनबारे उठिरहेको प्रश्नलाई उनले अनावश्यक बहसको संज्ञा दिंदै सबै नेता–कार्यकर्ताले अधिवेशन सुनिश्चित गर्न लाग्नुपर्ने धारणा राखे। “१४ औं महाधिवेशन पनि समयमै भएको हो, अब १५ औं महाधिवेशन पनि समयमै र राजनीतिक सन्देश दिने गरी हुनुपर्छ,” उनले भने।
उनले सबै जात–भाषा र समुदायको प्रतिनिधित्व हुने अधिवेशनमा जोड दिँदै सोसल मिडियाको प्रयोग पनि संगठित रूपमा गर्नुपर्ने औंल्याए। “सोसल मिडिया जनमत निर्माणको प्रमुख माध्यम बनेकाले वडा तहबाटै यसलाई प्रभावकारी बनाउनुपर्छ,” कार्कीले सुझाए।
प्रतिक्रिया