काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती व्यवसायी तथा कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
लन्डनमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादनजस्ता क्षेत्रहरूमा नेपालमा लगानीको विशाल सम्भावना रहेको उल्लेख गरेका हुन् । बेलायत–नेपाल चेम्बर अफ कमर्स र लण्डनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल र बेलायतबीचको आर्थिक साझेदारीलाई अझ मजबुत बनाउने उद्देश्य रहेको थियो ।
कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । अध्यक्ष ढकालले सम्बोधनमा नेपाल–बेलायत सम्बन्ध दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै गोरखा सैनिकको भर्ति, विकास साझेदारी, शिक्षा र व्यापारमा बेलायतको योगदानलाई स्मरण गरे ।
नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, “नेपालको रणनीतिक भौगोलिक स्थिति, दक्ष युवा जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीकर्ताका लागि आकर्षक वातावरण सिर्जना गरेको छ।”
जलविद्युत क्षेत्रमा नेपालसँग ४० हजार मेगावाटभन्दा बढी उत्पादन क्षमताको सम्भावना रहेको र स्वच्छ, हरित ऊर्जा भविष्यको आवश्यकता भएकाले बेलायती कम्पनीलाई सहभागिताको लागि आमन्त्रण गरेका छन् ।
सूचना प्रविधिको क्षेत्रमा नेपाली युवाको सीप र दक्षता उल्लेख गर्दै उनले नेपाललाई डिजिटल सेवा र आउटसोर्सिङका लागि प्रतिस्पर्धी हबको रूपमा विकास गर्न सकिने बताए । अध्यक्ष ढकालले लगानीकर्तालाई आवश्यक नीति तथा सहजीकरणमा महासंघको पूर्ण प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया