इलाम : इलाम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ। नगर कार्यपालिकाको हलमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख केदार थापाले प्रतिबद्धता बाचन गर्दै हस्ताक्षरमार्फत औपचारिक घोषणा गरेका हुन्।
स्वास्थ्य शाखाका प्रमुख उपेन्द्रराज खनालका अनुसार, पालिकाभित्र १६ महिनादेखि ५९ महिनासम्मका १९७९ जना बालबालिकामा गरिएको सर्वेक्षणमा, १५ महिनाको उमेरसम्ममा लगाउनुपर्ने खोपको कुनै पनि मात्रा नलगाएका (शून्य डोज) २ जना र ३४ जना ड्रप आउट भेटिएका थिए। ती सबैलाई बैशाख महिनामै खोप सेवामा समाहित गरिएको जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले बालबालिकालाई निर्धारित उमेरमै खोप लगाउनुपर्छ भन्नेमा जोड दिएका थिए। खोपले भविष्यमा बालबालिकामा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्याबाट जोगाउन मद्दत गर्ने उनीहरूको भनाइ थियो।
सो अवसरमा इलाम नगरपालिकाका १२ वटै वडा पूर्ण खोप सुनिश्चितता वडा घोषित गरिएसँगै, १६ वटै स्वास्थ्य संस्थालाई प्रमाणपत्र र कदर पत्र प्रदान गरिएको थियो। स्वास्थ्य कार्यालयसँगको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र वितरण गरिएको थियो।
नगरप्रमुख थापाले आगामी दिनमा खोप सेवाको गुणस्तर र प्रभावकारिता अझ बढाउन नगरपालिका थप सक्रिय हुने जानकारी पनि दिए।
प्रतिक्रिया